फ्रान्सले यो खेल जिते लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्ने छ । सन् २०१८ मा रुसमा उपाधि जितेको फ्रान्स चार वर्षअघि कतारमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
स्पेनका प्रशिक्षक लुइस डे ला फुन्टेको नेतृत्वमा टोलीले विश्वकप र युरो कप गरी दुई ठूला प्रतियोगिताका १३ खेलमा १२ मा विजय हात पारेको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।
स्पेनले फ्रान्ससँगको पछिल्ला १० खेलमा ७ मा विजय हात पारेको छ, जसमा युरो कप २०२४ को सेमिफाइनलमा पाएको २–१ र नेसन्स लिगमा पाएको ५–४ को विजय पनि रहेको छ । त्यसबाहेक १ खेल बराबरीमा टुंगिएको थियो भने २ खेलमा फ्रान्स विजयी रहेको थियो ।
फ्रान्स र स्पेनबीचको विजेताले आइतबार न्यु जर्सीमा हुने फाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अहिले दुवै टिम फाइनलमा पुग्ने होडमा देखिएका छन् ।
(12:29 AM)
आँधीबेहरी आउने सम्भावनालाई ध्यानमा राखी खेल खेलाइँदै
फ्रान्स र स्पेन विश्वकपको सेमिफाइनलमा डालासको एटी एन्ड टी रंगशालामा भिड्दै छन् । फ्रान्स लगातार तेस्रो पटक सेमिफाइनल खेलिरहेको छ भने स्पेन २०१० यता पहिलो सेमिफाइनल खेलिरहेको छ ।