सन् २०१८ मा पनि बेल्जियमले दुई गोलले पछाडि रहेर खेल ३–२ ले जितेको थियो, यसपालि पनि त्यस्तै नतिजा
What you should know
सियाटल — विश्वकप इतिहासमा यसलाई अहिलेसम्मकै एक अद्वितीय पुनरागमन मानिनेछ । बुधबार बेल्जियमले दुई गोलले पछाडि रहेको स्थितिबाट जसरी सेनेगललाई ३–२ ले हराएको छ । त्यसले देखाउँछ, यो टिममा अझै पनि केही छ । खेल सकिनु पाँच मिनेट बाँकी थियो । सेनेगल दुई गोलले अगाडि थियो । यस्तोमा बेल्जियमका लागि रोमेलु लुकाकु र योरी टेलेमन्सले गोल गरेर खेललाई अतिरिक्त समयतर्फ धेकेलेका थिए । खेलको १ सय २५ औं मिनेटमा टेलेमन्सले नै पेनाल्टीबाट गोल गर्दै बेल्जियमको पुनरागमनको औपचारिकता पूरा गरेका थिए ।
खेलपछि उनले भने, ‘यसरी खेलमा फर्किन सक्नुमा गर्व हुने गर्छ । मैले दुई गोल पनि गरें । टिमको प्रतिष्ठा बचाउन सकेकामा म खुसी छु ।’ खेल सकिने केही सेकेन्डमात्र बाँकी छँदा उनीमाथि नै फाउल भएको थियो र त्यसमै ‘भार’ को मदतमा पेनाल्टीको निर्णय दिइएको थियो ।
त्यसैबारे सेनेगलका प्रशिक्षक पापे थिवले भने, ‘यो निर्णयको व्याख्या गर्न चाहन्न । पेनाल्टीको निर्णयमा प्रत्येक टिमको फरक विश्लेषण हुने गर्छ । त्यसैले रेफ्रीको यस निर्णयबारे मलाई केही पनि भन्नु छैन ।’ विश्वकप फुटबलका पछिल्ला ११ खेलमा दुई गोलले पछाडि रहेको स्थितिबाट बेल्जियमले दोस्रोपल्ट जित आत्मसात् गरेको छ । यससँगै टिम अन्तिम १६ को चरण पनि पुगेको छ ।
सन् २०१८ को विश्वकपमा पनि बेल्जियमले जापानविरुद्ध दुई गोलले पछाडि रहेर खेल ३–२ ले जितेको थियो । यो अन्तिम १६ को खेल थियो । बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले सेनेगली टिममाथि पर्याप्त सहानुभूति देखाएर भने, ‘सायद बेल्जियम यो खेलमा जितका लागि हकदार थियो, तर म आफ्नो टिमको जितमा पनि खुसी छु ।’
सन् २०१८ को विश्वकपमा तेस्रो स्थानमा आएको बेल्जियमका प्रमुख खेलाडी सेनेगलमाथिको यो जितमा पनि प्रमुख पात्र रहे । त्यसमा एक त लुकाकु नै रहे । उनले नै वेञ्चबाट मैदान छिरेर ८६ औं मिनेटमा गोल गरे । त्यसपछि टेलेमन्सले सबैभन्दा पहिले बराबरी गोल गरे ।
त्यसपछि अतिरिक्त समयमा निर्णायक गोल गरे । यस्तै चौथो विश्वकप खेलिरहेका थिवा कोर्टियसले पनि केही उत्कृष्ट बचाउ गरे । प्रशिक्षक थिव थप्छन्, ‘यो खेल सहनै नसकिने खालको रह्यो । नत्र हाम्रो खेल नै उच्च रह्यो । हामी दुई गोलले अगाडि थियौं । तर सबैलाई के थाहा छ भने फुटबल ८५ मिनेटको मात्र खेल होइन । हामीले बेल्जियमलाई बधाइ दिनैपर्छ ।’
बेल्जियम विश्वकपका पछिल्ला चार संस्करणमा अन्तिम १६ मा पुगेको यो तेस्रोपल्ट हो । यो टिम सन् २०१४ मा क्वाटरफाइनल र सन् २०१८ मा सेमिफाइनल पुगेको थियो । तर चार वर्षअगाडि कतारमा भने समूह चरणबाटै बाहिरिएको थियो ।
अब क्वाटरफाइनल प्रवेश बेल्जियमले सियाटलमा हुने खेलमा अमेरिकाको सामना गर्नेछ । अफ्रिकी कप अफ नेसन्सको निराशापछि अब सेनेगल यस विश्वकपबाट पनि बिदा लिएर घर फर्कने छ ।
