युरोपियन च्याम्पियन स्पेनले विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पाउन आज राति १२:४५ को खेलमा लस एन्जलसमा अस्ट्रियाको सामना गर्दैछ ।
What you should know
लसएन्जलस — युरोपियन च्याम्पियन स्पेनले विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पाउन बिहीबार राति लसएन्जलसमा अस्ट्रियाको सामना गर्दैछ । स्पेनले यस खेल जितेमा टोलीको सम्भावित भेट पोर्चुगलसँग हुनेछ । त्यसका लागि पोर्चुगलले शुक्रबार बिहान हुने खेलमा क्रोएसियालाई पराजित गर्नु पर्नेछ ।
विश्वकप उपाधिका लागि दाबेदार मानिएको स्पेनलाई पहिलो खेलमै केप भार्डेले गोलरहित बराबरीमा रोकेर स्तब्ध पारिदिएको थियो । तर त्यसपछि टोलीले साउदी अरेबियालाई ४–० ले र उरुग्वेलाई १–० गोलले पराजित गरेको थियो ।
तर स्पेनका प्रशिक्षक लुइस डे ला फुन्टेले आफ्नो टोलीले स्तर अनुरुप नै प्रदर्शन गरिरहेको दाबी गर्दै प्रतियोगितामा आफ्नो टोली जहाँ हुनुपर्ने त्यही रहेको दाबी गर्छन् । पहिलो खेलमै नसोचिएको नतिजा आए पनि समूह विजेता भएर नकआउट चरणमा पुगेकाले स्थिति यथावत् रहेको उनको दाबी थियो ।
‘यो टोलीलाई कीर्तिमान रच्न र कठिन समयबाट अगाडि बढ्नका लागि बानी परिसकेको छ । हामी अगाडि बढ्नाका लागि प्रतिबद्ध छौँ,’ डे ला फुन्टेले अस्ट्रियासँगको म्याच अगाडि भनेका थिए, ‘अब हामी यस्तो समयमा आएका छौं, जहाँ गल्तीलाई कुनै समय छैन ।’
२०१० मा विश्वकपको उपाधि जितेको स्पेन २०१८ र २०२२ मा गरी दुवै पटक अन्तिम १६ मा पेनाल्टी सुटआउटमा हार बेहोर्दै बाहिरिएको थियो । त्यसैले अस्ट्रियासँग अर्को सम्भावित पेनाल्टी सुटआउटलाई टोली तयार छ ।
अस्ट्रियाले समूह चरणको पहिलो खेलमा जोर्डनलाई ३–१ गोलले पराजित गरेको थियो । तर त्यसपछि अर्जेन्टिनी स्टार मेसीको जादुमा टोलीले २–० को हार बेहोरेको थियो । अन्तिम खेलमा अल्जेरियासँग ३–३ को बराबरीमा नतिजा निकाल्दै अस्ट्रियाले नकआउट चरण पक्का गरेको थियो । अस्ट्रिया १९९८ यता पहिलो विश्वकप खेलिरहेको छ ।
