इजिप्टले नवौं प्रयासमा विश्वकपको यो पहिलो जित निकालेको हो । सलाहले ६७ औं मिनेटमा गोल गरेपछि खेलमा इजिप्ट पहिलो पटक अगाडि रहेको थियो ।
What you should know
सियाटल — अन्ततः मोहम्मद सलाह र इजिप्टका लागि लामो समयको पर्खाइमा पूर्णविराम लागेको छ । सलाहले दोस्रो हाफमा गरेको गोलमा टिकेर इजिप्टले न्युजिल्यान्डलाई हराएपछि अफ्रिकी फुटबलको सबैभन्दा सफल देशले विश्वकप इतिहासमै पहिलो ऐतिहासिक जित दर्ता गरेको हो ।
इजिप्टले नवौं प्रयासमा विश्वकपको यो पहिलो जित निकालेको हो । सलाहले ६७ औं मिनेटमा गोल गरेपछि खेलमा इजिप्ट पहिलो पटक अगाडि रहेको थियो । ट्रेजेग्वेटले तेस्रो गोल थपेपछि इजिप्ट अन्ततः ३–१ ले विजयी रह्यो । अन्यथा खेलको सुरुमै न्युजिल्यान्डले अग्रता लिएको थियो । बेल्जियमविरुद्ध ‘इजिप्सियन किङ’ सलाहको प्रदर्शन खासै राम्रो रहेन, त्यसैले यो विश्वकपमा उनले भनेजस्तो सुरुआत पनि लिन सकेन ।
अझ न्युजिल्यान्डविरुद्ध उनको पहिलो हाफ पनि खासै राम्रो रहेन । यस्तोमा लागिरहेको थियो, यी ३४ वर्षीय खेलाडीका लागि एक अर्को विश्वकप बिर्सनलायक रहने छ । अझभन्दा विश्वकपमा सलाहको कमजोर प्रदर्शनको शृंखला तोडिने छैन । अब लियोनल मेसी, केलियन एमबाप्पे, इर्लिङ हालान्ड र ह्यारी केनपछि सलाह पनि यो विश्वकपमा आफ्नो छाप छोड्न सफल हुने देखिएको छ ।
सन् २०१८ को विश्वकपमा इजिप्टका लागि सलाहको प्रदर्शन असफल जस्तै रह्यो । अझ चार वर्षअगाडि इजिप्ट कतारमा भएको विश्वकपमा छनोट समेत भएन । अब भने इजिप्टको फुटबलको सबैभन्दा ठूला स्टारले विश्वकपमा सम्झनलायक प्रदर्शन गरेका छन् । अब इजिप्टलाई इरानविरुद्ध हुने लिग चरणको अन्तिम खेलमा एक अंक भए पुग्नेछ, नकआउट चरण प्रवेशका लागि ।
अझ स्थिति के सम्म पनि हुन सक्छ भने इजिप्टलाई त्यही एक अंक पनि नचाहिने हुनसक्छ । न्युजिल्यान्डविरुद्धको खेलपछि सलाहले भने, ‘यो खेलको जित हामी सबै खेलाडीका लागि ठूलो उपलब्धि हो । यो जित आफैंमा ऐतिहासिक रह्यो । अब हाम्रोसामु उत्तिकै महत्त्वपूर्ण खेल रहेको छ ।’ लिभरपुलका लागि पछिल्लो सिजन सलाहका लागि राम्रो रहेन ।
अहिले उनको क्लब खेलजीवन पनि के हुने भने त्यो टुंगो छैन । प्रशिक्षक आर्ने स्लटसँगको कलहपछि उनले लिभरपुल पनि छाडिसकेका छन् । विश्वभरका क्लब उनलाई अनुबन्ध गर्न आतुर रहेको छ । तर उनी आफैं भने अहिले इजिप्टका लागि विश्वकपमै मात्र केन्द्रित हुन चाहन्छन् । आफ्नो देशका लागि लगातारको असफलता बिर्सेर उनी केही राम्रो गर्न चाहन्छन् ।
सन् २०१८ को विश्वकपको ठीक अगाडि उनी घाइते भएका थिए । बल्लतल्ल टिममा त परे, तर उरुग्वेविरुद्धको पहिलो खेलमा बेञ्चमै रहे । लगत्तै इजिप्ट रुससँग ३–१ ले पराजित रह्यो । भलै, त्यसमा उनले पेनाल्टीबाट एक गोल गरेका थिए । त्यसपछिको खेलमा साउदी अरेबियाको हातबाट बेहोरेको हार त सर्वथा बिर्सनलायक रहेको थियो ।
त्यसपछि इजिप्टको फुटबलमा लामै समय तनाव रह्यो । सलाहले इजिप्टको फुटबल संघमाथि विश्वकप तयारीमा व्यवधान पुर्याएको भनेर आरोप लगाए । समाचार के पनि आयो भने अब सलाहले संन्यास लिनेछन्, अन्तर्राष्ट्रिय फुटबलबाट । कतारको विश्वकपमा छनोट हुन नसकेपछि इजिप्टको फुटबलकै स्तरलाई लिएर प्रश्न उठेको थियो ।
बेल्जियमविरुद्ध पनि पहिलो हाफमा प्रशिक्षक हुसेन हसनले सलाहसँग कुराकानी गरेको देखिएको थियो । पछि उनलाई सब्स्टिच्युट पनि गरियो । न्युजिल्यान्डविरुद्ध फेरि यस्तै कथा दोहोरिने डर थियो, सलाहले उत्कृष्ट गोल गरिहाले । लिभरपुलका लागि उनी लामो समय प्रमुख खेलाडी रहे, उनको छवि सुपरस्टार जत्तिकै थियो ।
लिभरपुलका लागि उनले सबथोक जितेका छन्, तर इजिप्टका लागि केही पनि उपाधि जित्न सकेका छैनन् भन्दा हुन्छ । न्युजिल्यान्डविरुद्धको गरेको गोल इजिप्टबाट सलाहको ६८ औं गोल हो । उनी आफेनो देशका लागि सर्वाधिक गोलकर्ता हुनेक्रममा छन् । यही बेला इजिप्टले विश्वकपमा पहिलो जितका लागि ९२ वर्ष लामो पर्खाइ पनि टुंग्याएको छ ।
इजिप्टका लागि सलाहले खेल्न थालेको पनि १४ वर्ष भयो । सलाह आउनु अगाडि इजिप्टले सन् २००६ देखि २०१० बीच तीन पल्ट लगातार अफ्रिकी कप अफ नेसन्स जितेको थियो । तर उनी आएयता इजिप्ट दुईपल्ट यो प्रतियोगिताको फाइनलमा हारिसकेको छ । इजिप्टका लागि राम्रो गरेर देखाउने सलाहका लागि अन्तिम अवसर नै यही विश्वकप हो ।
