आक्रमण तिखार्ने चुनौतीमा पोर्चुगल

उज्वेकिस्तानविरुद्ध मंगलबार हुने खेलमा पोर्चुगलले एउटै विकल्पमा आफ्नो आक्रमणलाई धारिलो पार्नुपर्ने।

असार ९, २०८३

रोयटर्स

Portugal faces challenge to sharpen attack

What you should know

ह्युस्टन — विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा पोर्चुगलले बलमाथि अत्यधिक नियन्त्रण राख्न सक्यो । तर रोबर्टो मार्टिनेजको टिमले त्यसलाई निर्णायक गोलमा परिणत गर्न भने सकिरहेको थिएन । जतिबेला यही पोर्चुगलले मंगलबार हुने खेलमा उज्वेकिस्तानको सामना गर्नेछ, त्यतिबेला टिमसामु एउटै विकल्प आफ्नो आक्रमणलाई तिखार्ने रहनेछ ।

डीआर कंगोविरुद्धको खेलमा पोर्चुगल १–१ को निराशाजनक बराबरीमा रोकिएको थियो । ओप्टाले उपलब्ध गराएको तथ्यांकअनुसार पोचुर्गलले आफ्नो अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध ७ सय ८३ पास खेलेको थियो । बढीभन्दा बढी पास खेल्ने स्पेनले नै ८ सयको हाराहारीमा एउटा खेलमा यस्तो प्रवृत्ति दोहोर्‍याउने गर्छ । अझ पोर्चुगलले खेलमाथि लिएको नियन्त्रणको प्रतिशत थियो, ७५ ।

तर पोर्चुगलले कंगोको पोस्टमा सात प्रहार मात्र गर्न सक्यो र त्यसमध्ये एक प्रहार मात्र गोलमा परिणत भयो । त्यो भनेको छैटौं मिनेटमा जाओ नेभेसको हेडबाट सम्भव गोल हो । विश्व विख्यात खेलाडी क्रिस्टियानो रोनाल्डोसहितको टिमबाट यो भन्दा राम्रो प्रदर्शन अपेक्षित हुने गर्छ ।

त्यतिमात्र होइन, पोर्चुगलसामु आक्रमणको अनेक विकल्प पनि उपलब्ध छन् । तर पोर्चुगलले विपक्षको फाइनल–थर्डमा सिर्जनात्मक अवसर र त्यसको कार्यान्वयन तथा सही समयमा सही निर्णय गर्न सकिरहेको छैन । पहिलो चरणमा पोर्चुगलले रचेको आक्रमण सबैभन्दा कम रहेको छ, सहभागी सबै ४८ देशमध्ये नै । केप भार्डेविरुद्ध गोलरहित बराबरीमा पनि स्पेनले त्यो भन्दा बढी आक्रमण बुनेको थियो, त्यो भनेको २७ ।

समूह ‘के’ मा पोर्चुगलले विश्वकपमै डेब्यु गरिरहेको उज्वेकिस्तानको सामना गर्दा पक्कै पनि बढी आक्रमण र त्यसलाई निर्णायक गर्न सक्ने क्षमता अपेक्षा गरिनेछ । उज्वेकिस्तान कोलम्बियाविरुद्ध आफ्नो पहिलो खेलमा ३–१ ले पराजित रहेको थियो । त्यस खेललाई लिएर उज्वेकिस्तानी प्रशिक्षक फाबियो कानाभारो मान्छन्, उनका खेलाडी बढी नै भावनात्मक भएर खेले ।

उनले भनेका छन्, ‘मलाई लाग्छ, हाम्रा खेलाडी धेरै नै आत्तिएर खेले । त्यसै कारण हाम्रा खेलाडी आक्रमणमा भन्दा पनि रक्षात्मक बढी भएर खेले ।’ 

सन् २००६ मा इटालीले विश्वकप जित्दाका खेलाडीलाई भने अब लागेको छ, पहिलो खेलको डर अब उज्वेकिस्तानका खेलाडीमा रहेन । बालोन डी’अर विजेता कानाभारो अबको दोस्रो खेलमा सुधारिएको प्रदर्शनको अपेक्षा राख्छन् ।

उज्वेकिस्तानले कोलम्बियालाई दोस्रो हाफमा केही गाह्रो पारेको थियो, त्यसैले पनि कानाभारोलाई विश्वास छ, आफ्नो टिम पोर्चुगललाई पनि लय समात्ने दिने पक्षमा हुने छैन । उनी भन्छन्, ‘एसियाको उच्च टिमको रूपमा हाम्रो टिम वास्तवमै बलियो छ । तर हामीलाई विश्वकप जस्तो ठूलो प्रतियोगिता खेलेर अझ फैलिनुपर्छ, आफूलाई परिपक्व बनाउनुपर्छ ।’

कंगोविरुद्ध ४१ वर्षीय रोनाल्डोले पूरा ९० मिनेट खेल्ने अवसर पाएका थिए । यसैलाई लिएर प्रशिक्षक मार्टिनेजको आलोचना पनि भइरहेको छ । तर उनी नै आफ्नो टिमका मुख्य खेलाडी हुन् । विङ्गर फ्रान्सिस्को कोन्सकोउ भन्छन्, ‘रोनाल्डोमा अझै पनि सफलताको भोक मरेको छैन, त्यसैले उनी सबैका लागि उदाहरण पेस गर्न योग्य खेलाडी हुन् । हामी जस्ता नयाँ पुस्ताका लागि उनी आदर्श खेलाडी हुन् ।’

विश्वकप २०२६

रोयटर्स

Link copied successfully