विश्वकप डेब्युमा स्पेन र उरुग्वेलाई रोक्न सफल केप भार्डेले साउदी अरेबियाविरुद्ध जित निकाल्दै नकआउट चरणमा पुग्ने लक्ष्य लिएको छ।
What you should know
मियामी गार्डेन — केप भार्डेका प्रशिक्षक बुबिस्टा अहिले कति धेरै उत्साही छन् भने उनले अब आफ्नो टिमको लक्ष्य नकआउट चरणमा प्रवेश रहेको दाबी गरेका छन् ।
उरुग्वेविरुद्ध समूह चरणको आफ्नो दोस्रो खेलमा केप भार्डेले २–२ को रोमाञ्चक बराबरी निकालेपछि टिमको महत्त्वाकांक्षा बढेको हो । विश्वकपमा डेब्यु गरिरहेको केप भार्डेले आफ्नो पहिलो खेलमा स्पेन जत्तिको टिमलाई गोलरहित बराबरीमा रोकेको थियो ।
फिफाको विश्व वरीयतामा ६३ औं स्थानमा रहेको टिमले समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा साउदी अरेबियाको सामना गर्नेछ । त्यसमा जित निकाल्ने हो भने केप भार्डेको नकआउट खेल्ने सपना पूरा हुन सक्नेछ । बुबिस्टा भन्छन्, ‘हामीले सुरुदेखि भन्दै आएका थियौं, हाम्रो उद्देश्य सक्दो माथिल्लो स्तरमा खेल्ने हो । हामीले मिहिनेत गरेको पनि यसैका लागि हो ।’
उनी थप्छन्, ‘पछिल्ला दुई खेलका नतिजा आएको पनि त त्यही मानसिकताले खेलेको हो । यी खेलको नतिजाभन्दा पनि हाम्रा लागि महत्त्वपूर्ण हो, केप भार्डे एउटा टिमका रूपमा खेल्न सक्छ भन्ने सन्देश दिने । टिममा एकता र शक्ति दुवै छ भनेर पनि प्रमाणित गरेको छ । अब भने हामीले नयाँ सपना पनि बुन्न थालेका छौं, यो हो, नकआउट चरणमा प्रवेश ।’
प्रशिक्षक बुबिस्टा यत्तिको सोच्नु स्वाभाविक र तर्कसंगत रहेको पनि मान्छन् । उनी भन्छन्, ‘विपक्षी टिमप्रति हाम्रो सम्मान कहिले पनि कम हुने छैन । अहिले हामी त्यो स्थितिमा छौं, जहाँबाट हामी दोस्रो चरणमा प्रवेशका लागि खेल्न सक्छौं ।’
उरुग्वेको सामना गर्नु अगाडि पनि बुबिस्टाले आफ्नो टिमविना कुनै डर सक्दो राम्रो खेल्ने प्रयासमा हुने दाबी गरेका थिए ।
नभन्दै टिमको प्रदर्शन यस्तै रह्यो । केप भार्डेले केभिन पिनाको उत्कृष्ट फ्रि–किकको मदतमा अग्रता लिएको थियो । तर पछि खेलमा २–१ ले पछाडि रह्यो । त्यही बेला हेलिओ भरेलाले निर्णायक बराबरी गोल गरे । बुबिस्टा दाबी गर्छन्, ‘हामी सारा विश्वलाई देखाउन चाहन्छौं, अब दोस्रो चरण प्रवेशका लागि खेल्ने हो । अहिले हाम्रो मनमा पनि यही रहेको छ ।’
