रिभर प्लेटको एकेडेमीबाट उत्पादन उनी पोर्चुगलको बेन्फिका क्लब हुँदै हाल इंग्ल्यान्डको चेल्सीबाट खेल्छन् ।
काठमाडौँ — मुख्यतः सेन्ट्रल मिडफिल्ड भए पनि २५ वर्षे इन्जो फर्नान्डेज डिफेन्सिभ र आक्रामक मिडफिल्डको पनि भूमिका निभाउन सक्ने भएकाले विश्वको उत्कृष्ट खेलाडीको सूचीमा आफ्नो नाम लेखाउन सफल हुँदै आएका छन् । रिभर प्लेटको एकेडेमीबाट उत्पादन उनी पोर्चुगलको बेन्फिका क्लब हुँदै हाल इंग्ल्यान्डको चेल्सीबाट खेल्छन् । उनी लगातार दोस्रो विश्वकप खेल्दै छन् । सन् २०२२ को सेप्टेम्बरमा होन्डुरसबाट खेलेर उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए ।
त्यसयता उनले ४३ खेलमा ६ गोल गरिसकेका छन् । अर्जेन्टिनाले ४ वर्षअघि पछिल्लो विश्वकप जित्दा उनी टोलीमा रहेका थिए । मेक्सिकोसँग समूह चरणको दोस्रो खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै गोल गरेका थिए, जतिखेर उनी २१ वर्षका थिए र विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने लियोनेल मेसीपछि अर्जेन्टिनाका दोस्रो कान्छा खेलाडी बनेका थिए । उनले फ्रान्ससँगको फाइनल पूरै खेल्दै उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाएका थिए । अर्जेन्टिनाले २०२४ मा अमेरिकामा कोपा अमेरिका जित्दा पनि फर्नान्डेज त्यसको महत्त्वपूर्ण सदस्य थिए ।
