जापानले विश्वकप इतिहासमै पहिलो पटक एउटै खेलमा ४ गोल गर्न पनि सफल रह्यो ।
काठमाडौँ — जापान लगातार चौथोपल्ट विश्वकप फुटबलको नकआउट चरण पुग्ने संघारमा पुगेको छ । ट्युनिसियालाई सजिलै ४–० ले हराएपछि जापान यो उपलब्धिसामु पुगेको हो ।
समूह ‘एफ’ को यो खेल किन विशेष रह्यो भने पुरुष विश्वकपको ठ्याक्कै एक हजार खेल थियो । यतिमात्र होइन, जापानले विश्वकप इतिहासमै पहिलो पटक एउटै खेलमा ४ गोल गर्न पनि सफल रह्यो । फेरि यो कुनै पनि एसियाली देशले विश्वकपमा पहिलो पटक चार गोल गरेको स्थिति रह्यो । जापानका लागि आयसे युएदा दुई गोल गर्न सफल भए । उनका लागि पछिल्लो सिजन उत्कृष्ट रहेको छ । यसक्रममा उनले फेयर्नुडका लागि २४ गोल गरेका थिए । लिगमा उनी नै सर्वाधिक गोलकर्ता रहेका थिए ।
जापानका लागि लगातार दोस्रो विश्वकपमा प्रशिक्षक रहेका हाजिमे मोरियासुले टिमको अहिलेसम्मको प्रदर्शनमा खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, ‘टिमले जति धेरै गोल गर्न सक्यो, उति खेलाडीको आत्मविश्वास बढ्ने गर्छ ।’ उनले स्विडेनविरुद्धको खेलमा पनि सक्दो बढी गोल गर्ने उद्देश्य रहने दाबी गरेका छन् । सन् २०१९ यता जापान आफ्नो युरोपेली प्रतिद्वन्द्वीविरुद्ध ९० मिनेटको खेलमा हारेको छैन ।
यो समूहमा नेदरल्यान्ड्स र जापान समान ४ अंकमा छ । नेदरल्यान्ड्स गोल अन्तरले अगाडि रहेको छ । जापानको तुलनामा डच टिमले एक गोल बढी गरेको छ । यिनै दुई टिमबीचको खेल बराबरीमा टुंगिएको थियो । नेदरल्यान्ड्सले भने अब लिग चरणको आफ्नो अन्तिम खेलमा ट्युनिसियाको सामना गर्नेछ । स्विडेनको पनि अन्तिम ३२ मा प्रवेशको सम्भावना जीवन्त छ । स्विडिस टोलीले पनि जापानविरुद्ध आफूअनुकूल नतिजा निकाल्नुपर्नेछ ।
जापानविरुद्ध पनि ट्युनिसियाले आफ्नो खेलमा सुधार गर्न सकेन, त्यो पनि नयाँ प्रशिक्षकका रूपमा हार्भे रेनार्डको आगमनपछि । उनी दुईपल्ट अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेका प्रशिक्षक हुन् । तर उनकै नेतृत्वमा ट्युनिसिया लगातार दोस्रो खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । ट्युनिसियाले स्विडेनसँगको एक खेललगत्तै आफ्ना प्रशिक्षक सब्री लामोचीलाई बर्खास्त गरेको थियो ।
विश्वकप चलिरहेका बेला आफ्ना प्रशिक्षक बर्खास्त गर्ने ट्युनिसिया पहिलो टिम बनेको थियो । अहिलेका प्रशिक्षक रेनार्डले जापानसँगको खेल हारेपछि भने, ‘हाम्रो अबको ध्यान नेदरल्यान्ड्सविरुद्धको खेलमै हुनुपर्छ । विश्वकप जत्तिको प्रतियोगितामा लगातार दुई खेल गुमाएपछि कुनै पनि टिमका लागि सजिलो स्थिति रहन्न । तर हामी व्यावसायिक फुटबलमा छौं, अन्त्यसम्म आफ्नो जिम्मेवारी पूरा गर्नेक्रममा हुनेछौं ।’
