गत सिजनको उपविजेता पन्जाबको विजयी सुरुवात

कुपर कोनोलीले ४४ बलमा अविजित ७२ रन बनाएपछि गत सिजनको उपविजेता पन्जाबले १ सय ६३ रनको विजयी लक्ष्य ५ बलअगाडि १ सय ६५ रन बनाएर पूरा गरेको हो ।

चैत्र १८, २०८२

एजेन्सी

Last season's runner-up Punjab make a winning start

What you should know

चण्डीगढ — कुपर कोनोलीको सानदार ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा विजयी सुरुआत गरेको छ । टोलीले आफ्नो पहिलो खेलमा मंगलबार गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो ।

कोनोलीले ४४ बलमा अविजित ७२ रन बनाएपछि गत सिजनको उपविजेता पन्जाबले १ सय ६३ रनको लक्ष्य ५ बलअगाडि १ सय ६५ रन बनाएर पूरा गरेको हो । कोनोलीले समान ५ चौका र छक्का प्रहार गरे । पन्जाबले खेलमा चौकाभन्दा छक्का बढी प्रहार गरेको थियो । उसले ६ चौका लगाउँदा १४ छक्का प्रहार गरेको थियो । 

पहिलो ओभरमा मोहम्मद सिराजको बलमा छक्का प्रहार गरेका प्रियांश अर्या दोस्रो ओभरमा कागिसो रबाडाको बलमा क्याच दिन पुगे । अर्का ओपनर प्रभसिमरन सिंहले ३७ रन बनाए । उनले २४ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । कप्तान श्रेयस ऐरले २ छक्का प्रहार गरे पनि ११ बलमा १८ रन बनाई आउट भए । 

नेहाल बाधेरा ३, शशांक सिंह ४ र मार्कस स्टोइनिस शून्यमा आउट भएपछि पन्जाब संकटमा परेको थियो । मार्को यान्सेनले ५ बल खेल्दै १ छक्कासहित ११ रन बनाए । गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । 

यसअघि युजभेन्द्र चाहल र विजयकुमार वैशकको उत्कृष्ट बलिङमा पन्जाबले गुजरातलाई ६ विकेटको क्षतिमा १६२ रनमा रोकेको थियो । गुजरातका तीन खेलाडीले २५ वा त्यसभन्दा माथिको स्कोर बनाए । तर कप्तान शुभमन गिलको ३९ रनभन्दा कसैले बढी बनाउन सकेनन् । सुरुआतको फ्ल्याट विकेटमा खुलेर ब्याटिङ गरेको गुजरातले पहिलो पावर–प्लेमा १ विकेट गुमाई ५४ रन जोडेको थियो । 

चाहलको बलमा स्विप गर्दा आउट भएका गिलले २७ बलमा ६ चौका प्रहार गरे । अर्का ओपनर साई सुदर्शन १३ रनमा आउट भए । इंग्लिस ब्याटर जस बटलरले ३८ रन बनाए । तेस्रो नम्बरमा आएर १६ औं ओभरमा आउट भएका उनले ३ चौका र २ छक्का प्रहार गरे । बटलरले सामना गरेको ३३ मध्ये १४ बल डट थियो । ग्लेन फिलिप्सले १७ बलमा समान १ चौका र छक्कासहित २५ रन जोडे । 

६ देखि ११ ओभरमा गुजरातको रनमा अंकुश लाग्यो र टोलीले यसक्रममा ४२ रनमात्र बनाउन सक्यो । वाशिङ्टन सुन्दर १६ बलमा १८ र शाहरुख खान ४ रनमा आउट भए । राहुल टेवाइटाले १० बलमा १ चौकासहित अविजित ११ रन बनाए । वैशकले राम्रो लेन्थमा बलिङ गर्नुका साथै सर्ट बलमा गुजरातका ब्याटरलाई अप्ठ्यारोमा राखे । उनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । चाहलले ४ ओभरमा २८ रनमात्र खर्चेर २ विकेट लिए । यान्सेनले पनि कसिकसाउ बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

एजेन्सी

Link copied successfully