आईपीएल जित्नु उत्कृष्ट क्षण : विराट कोहली

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Best moment winning IPL: Virat Kohli

काठमाडौँ — भारतीय क्रिकेट स्टार विराट कोहलीले रोयल च्यालेन्जर्स बेंगलुरुका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ जित्नु आफ्नो खेल जीवनकै उत्कृष्ट क्षण भएको बताएका छन् । बेंगलुरुले मंगलबारको फाइनलमा पञ्जाब किंग्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।

बेंगलुरुले आईपीएलको १८ औं संस्करण आइपुग्दा यो उपाधि चुमेको हो । कोहलीले आफ्नो पूरा खेल जीवन बेंगलुरुकै लागि खेलेका छन् र यसक्रममा उनले आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण तथा युवा समय यो टिमका लागि दिएको पनि बताए । अहमदाबादमा आत्मसात् भएको जितलाई ३६ वर्षीय कोहलीले मीठोको पनि संज्ञा दिएका छन् ।

भारतीय टिमका पूर्वकप्तान कोहलीले गत महिना मात्रै टेस्ट त्रिकेटबाट संन्यास लिएका थिए । उनले यसअघि नै २०–ट्वान्टी क्रिकेटबाट पनि संन्यास लिइसकेका छन् । फाइनलमा बेंगलुरुले पहिले ब्याटिङ गर्दै नौ विकेटमा बनाएको १ सय ९० रनमा पनि कोहलीको सर्वाधिक ४३ रनको योगदान थियो ।

Best moment winning IPL: Virat Kohli

‘मैले यो बेंगलुरु टिमका लागि आफूले सक्दो सबै दिएको छु । मैले आजको जित आउँछ भनेर सोचेको पनि थिइनँ । खेलको अन्तिम बलपछि मैले आफ्नो भावनालाई रोक्नै सकिनँ । यी सबै क्षण मेरो लागि साँच्चै उत्कृष्ट रहेका छन्,’ उनले भने । त्यसै क्रममा कोहलीले टेस्ट त्रिकेटलाई बढी महत्त्व दिन पनि आग्रह गरे ।

Best moment winning IPL: Virat Kohliतस्बिरहरु : एपी/रासस

उनले भने, ‘यदि कोही खेलाडीले विश्व क्रिकेटमा नाम कमाउनु छ भने टेस्ट क्रिकेटलाई सबैभन्दा बढी महत्त्व दिनु पर्नेछ ।’

बेंगलुरुले चौथो पल्ट फाइनल खेलेर आईपीएलको उपाधि जितेको हो । यसअघिका तीन फाइनलमा पराजित हुनुको क्षणलाई कोहलीले निकै पीडादायी रहेको पनि बताएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully