चण्डीगढ — मुम्बई इन्डियन्सका प्रशिक्षक माहेला जयवर्द्धनेले मान्छन्, रोहित शर्मा जत्तिको खेलाडी यो टिमलाई छैटौंपल्ट इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दिलाउन पर्याप्त छन् । यस्तो किनभन्दा शर्मासँग ‘विनिङ मेन्टालिटी’ छ । उनी भारतीय क्रिकेटका सदाबहार खेलाडी पनि हुन् ।
टोलीका अहिलेका कप्तान भने हार्दिक पान्ड्यो हुन् । उपाधि जित्नबाट उनको टिम दुई जित मात्रै टाढा छ । शुक्रबार इलिमिनेटरमा मुम्बईले गुजरात टाइटन्सलाई २० रनले हराएको थियो । अब आइतबार अहमदाबादमा हुने दोस्रो क्वालिफायरमा मुम्बईले पन्जाब किंग्सको सामना गर्नेछ । यसमा कडा प्रतिस्पर्धा हुने अपेक्षा छ ।
यसको विजेताले जुन ३ मा हुने फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ । मुम्बईको सुरुआत यसपल्टको प्रतियोगितामा पनि राम्रो रहेन, सुरुआती पाँच खेलमध्ये चारमा पराजित थियो । त्यसपछिका ८ खेलमध्ये ७ मा मुम्बई विजयी रह्यो ।
यसै कारण प्लेअफ पुग्न सफल रह्यो । प्लेअफमा मुम्बईसामु ‘गर या मर’ को स्थिति थियो ।
यस्तो किनभन्दा चौथो स्थानमा रहेको मुम्बई गुजरातको हातबाट लिग चरणमा दुवैपल्ट पराजित भएको थियो । तर, मुम्बईले जतिबेला टिमलाई जित चाहिएको थियो, त्यही बेला त्यो आत्मसात् गर्न सक्यो । ‘जब टिममा जितका लागि खेल्ने संस्कृति हुन्छ, त्यतिबेला अगाडि बढ्न सजिलो हुने गर्छ,’ प्रशिक्षक जयवर्द्धने मान्छन् ।
‘अहिले मुम्बईको टिम पक्कै नयाँ जस्तै छ, तर टिममा अझै पनि सबैभन्दा अनुभवी खेलाडीको कुनै कमी छैन,’ उनले थपे । मुम्बईले अब सामना गर्ने त्यो टिम हो, जुन पहिलो क्वालिफायरमा बेंगलुरुको हातबाट पराजित भएको थियो । पन्जाबका कप्तान हुन्, श्रेयस ऐर । उनी भन्छन्, ‘हामीले लडाइँ त गुमाएका छौं, तर युद्ध होइन ।’
बेंगलुरुविरुद्धको खेलमा पन्जाबको ब्याटिङ कमजोर रह्यो । पूरा टिम नै १ सय १ रनमा अलआउट भयो । त्यसपछि टिम आठ विकेटको हार बेहोर्न बाध्य रह्यो । तर लिग चरणमा आफ्नो प्रदर्शनले पन्जाब उत्साहित छ । अहिलेसम्म आईपीएलको उपाधि जित्न नसकेको टिममध्ये एक पन्जाब लिग चरणको अन्त्यमा १० टिममध्ये शीर्षस्थानमा रहेको थियो ।
