अहमदाबाद — अन्ततः रोयल च्यालेन्जर्स बेंगलुरुका लागि विराट कोहलीको इन्डियन प्रिमियर लिग (आईपीएल) ट्रफी जित्ने बाटोमा एउटै तगारो बाँकी छ । त्यो हो, पन्जाब किंग्स । प्रतियोगिताको फाइनल मंगलबार विश्व क्रिकेटकै सबैभन्दा ठूलो रंगशालामा हुँदै छ । रंगशालाको क्षमता नै १ लाख २० हजार रहेको छ । फाइनलको क्रममा एउटा तथ्य महत्त्वपूर्ण अगाडि आउनेछ, प्रतियोगिताले नयाँ विजेता पाउँदै छ ।
सन् २००८ देखि सुरु आईपीएलको उपाधि अहिलेसम्म यी दुवै टिमले जित्न सकेको छैन । पन्जाबले दोस्रो क्वालिफायरमा पाँचपल्टको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसमा श्रेयस ऐरले कप्तानी इनिङ्स खेल्दै नटआउट ८७ रन बनाएका थिए । गत साताको पहिलो क्वालिफायरमा बेंगलुरुले पन्जाबलाई सजिलै हराएको थियो, त्यसैले मानसिक रूपमा यो टिम आफ्नो प्रतिद्वन्द्वीसामु केही हदसम्म बलियो रहनेछ ।
विश्व क्रिकेटकै सबैभन्दा धनी प्रतियोगितामा बेंगलुरु फाइनल पुगेको यो चौथोपल्ट हो । तर, यसअघिको तीनै फाइनलमा बेंगलुरु उपाधि चुम्न असफल रहेको छ । लाखभन्दा बढी दर्शकमध्ये धेरै कोहलीकै समर्थनमा हुनेछ, किनभने ३६ वर्षीय यी खेलाडी भारतीय क्रिकेटकै अहिलेसम्मकै सबैभन्दा ठूलो स्टारमध्ये एक हुन् । गत महिनामात्रै टेस्ट क्रिकेटबाट संन्यास लिएका कोहली यस सिजन बेंगलुरुका प्रमुख ब्याटर छन् ।
उनले ६ सय १४ रन बनाइसके । यो सबै १४ इनिङ्समा सम्भव भएको हो र त्यसमा आठ अर्धशतक समावेस छ । भारतका लागि दुई विश्वकप जितिसक्दा पनि कोहली अहिलेसम्म आईपीएल सफलताबाट विमुख नै छन् । उनले फाइनलमा बेहोरेको हारलाई निकै पाडादायी भनेका छन् ।
बेंगलुरुका कप्तान रजत पाटिदार मान्छन्, कोहली नै फाइनलमा सबैभन्दा बढी निर्णायक भूमिका खेल्न सक्ने खेलाडी हुन् । उनी थप्छन्, ‘मलाई लाग्छ कोहलीले बेंगलुरुका लागि आफूले सक्दो दिँदै आएका छन् ।’
पन्जाब टिमका बलर प्रशिक्षक हुन्, जेम्स होप्स । उनी मान्छन्, पहिलो क्वालिफायरको हारपछि आफ्नो टिम मानसिक रूपमा बलियो सावित हुँदै बेंगलुरुको सामना गर्नेछ । उनी मान्छन्, अधिकांस समर्थक कोहलीकै पक्षमा हुनेछन् । कोहलीसँगै बेंगलृुरुका सबैभन्दा निर्णायक अर्का खेलाडी हुन सक्छन्, अस्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउड । पन्जाबविरुद्ध उनले पहिलो क्वालिफायरमा २१ रनमात्र खर्चेर तीन विकेट लिएका थिए ।
अस्ट्रेलियाकै रिकी पोन्टिङ छन्, पन्जाबका प्रशिक्षक । उनका लागि निर्णायक साबित हुनसक्ने खेलाडी हुन्, तिनै कप्तान ऐर । उनी पनि ब्याट लयमा छन् । उनले १६ इनिङ्समा ६ सय ३ रन बनाइसकेका छन् । मुम्बईविरुद्धको आक्रामक इनिङ्समा उनले ४१ बलमात्रै उपयोग गरेका थिए । उनी भन्छन्, ‘जतिबेला मैले आफ्नो खेलमा पूर्ण विश्वास गरेको छु, त्यतिबेला प्रदर्शन राम्रो भएको छ । साथीहरूको राम्रो प्रदर्शनले पनि म बढी उत्साही हुने गर्छु ।’
