नेपालले मंगलबार स्कटल्यान्डमाथि ७ विकेटले जित हात पार्दै ट्वान्टी–२० विश्वकप क्रिकेट यात्रा टुंग्याएको छ
What you should know
मुम्बई — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि अर्धशतक बनाएपछि नेपालले १ सय ७१ रनको लक्ष्य मुम्बईको वानखेडे रंगशालामा ४ बलअघि नै पूरा गर्यो ।
वानखेडे स्टेडियममा टोलीलाई हौस्याउँदै नेपाली समर्थक । तस्बिर : हेमन्त श्रेष्ठ र अंगद ढकाल/कान्तिपुर
नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो । तेस्रो विश्वकप खेल्दै गरेको नेपालको यो मात्र तेस्रो जित हो । २०१४ मा बंगलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन । यसक्रममा ६ खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
यस विश्वकपमा पनि नेपाली टोली इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित गरेको थियो । यी तीन खेल हारेर नेपाल दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो । दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्रले वेस्ट इन्डिजविरुद्धको अघिल्लो खेलमा पनि ५८ रन बनाएका थिए, जुन नेपाली खेलाडीको विश्वकपमा उच्च स्कोर पनि थियो । नेपालले विश्वकपमा बनाएको ३ अर्धशतकमध्ये दुई दीपेन्द्रको नाममा छ । प्लेयर अफ द म्याच दीपेन्द्रले गुलशन झासँग चौथो विकेटमा ३६ बलभित्र ७३ रनको साझेदारी गरे । गुशलनले १७ बल खेल्दै १ चौका र २ छक्कासहित २४ रन बनाए ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुआत दिलाउँदै नेपालको विजय आधार तयार पारेका थिए । पावर प्लेमा विनाक्षति ५६ रन जोडेको नेपालले ९ ओभरमा ७४ रन बनाएको थियो । १० औं ओभरको पहिलो बलमा कुशललाई माइकल लिस्कले क्याच गराए । कुशलले ३५ बल खेल्दै १ चौका र ५ छक्का प्रहार गरे ।
लिस्कले १२ औं ओभरमा अर्का नेपाली ओपनर आसिफलाई पनि आउट गरे । आसिफले २७ बल खेल्दै २ छक्कासहित ३३ रन बनाए । लिस्कले कप्तान रोहित पौडेललाई पनि आउट गरेपछि नेपाल दबाबमा पर्यो । रोहितले १४ बलमा १ चौकासहित १६ रन बनाए ।
लिस्कले आफ्नो पहिलो ३ ओभरमा १० रनमात्र खर्चे । तर उनको चौथो तथा नेपालको १६ ओभरमा उनले २० रन खर्चिए । त्यसमध्ये १९ रन बनाउनेक्रममा दीपेन्द्रले लिस्कलाई २ छक्का र १ चौका प्रहार गरे ।
यसअघि ओपनर माइकल जोन्सको ७१ रनमा टस हारेपछि ब्याटिङ निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनाएको हो । पावर प्लेमा विनाक्षति ५२ रन बनाएको स्कटल्यान्डले सुरुको १० ओभरमा ८० रन जोडेर उत्कृष्ट सुरुआत गर्यो ।
१० औं ओभरको अन्तिम बलमा कप्तान रोहितले जर्ज मुन्सीलाई आउट गरी यो साझेदारी तोडे । मुन्सीले २९ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए । ब्रान्डन म्याकमुलनले १५ रनमा जीवनदान पाए, जब नन्दन यादवको बलमा सन्दीप जोराले उनको क्याच छुटाउन पुगे ।
जोन्सले म्याकमुलनसँग दोस्रो विकेटमा ३२ बलमा ५२ रनको साझेदारी गरे । सोमपाल कामीले १६ औं ओभरमा दुवैलाई आउट गरी नेपाललाई खेलमा फर्काउने प्रयास गरे । सोमपालले जोन्सलाई बोल्ड र म्याकमुलनलाई कट एन्ड बोल्ड गरे ।
जोन्सले ४५ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे । म्याकमुलनले १९ बलमा समान १ चौका र छक्कासहित २५ रन बनाए । अर्को ओभरमा कुशल भुर्तेलले रिची बेरिङ्टनलाई १० रनमा आउट गरे । नन्दनले म्याथ्यु क्रसलाई ४ रनमा बोल्ड गरे भने माइकल लिस्कलाई ४ रनमा आउट गरे । सोमपालले टम ब्रुसलाई ५ रनमा आउट गरी आफ्नो तेस्रो विकेट लिए ।
सोमपालले ४ ओभरमा २५ रनमात्र खर्चेर ३ विकेट लिएका हुन् । नन्दनले २ ओभरमा ३४ रन खर्चेर २ विकेट तथा रोहित र कुशलले १–१ विकेट लिए । नेपालले खेलेका तीनै विश्वकप खेल्ने एकमात्र खेलाडी रहेका सोमपालले कुल १० विकेट लिएका छन् । नेपालबाट यसअघि विश्वकपमा सर्वाधिक विकेट लिनेमा दीपेन्द्रसिंह ऐरी थिए । उनको नाममा ८ विकेट थियो ।
