ट्वान्टी–२० अन्तर्राष्ट्रियमै विकेटका हिसाबले नेपाललाई शर्मनाक हार चखाएपछि इटालीका ह्यारी मानेन्टीले भने, ‘विश्व वरीयतामा हामी २७ औं स्थानमा छौं, जबकि यस विश्वकपमा २० टोली खेलिरहेका छन्, नेपालसँगको विजयपछि हाम्रो वरीयता आज राति नै माथि पनि आउन सक्छ’
What you should know
मुम्बई — विशेषत इटाली फुटबल राष्ट्रका लागि चिनिन्छ । चार पटक त टोली विश्वकप च्याम्पियन भइसकेको छ । अहिले इटाली अंकतालिकामा इंग्ल्यान्डभन्दा माथि आएको छ । तर यो विश्वकप फुटबलमा नभई ट्वान्टी–२० विश्वकप क्रिकेटमा हो । फितलो ब्याटिङ गरेको नेपाललाई १० विकेटले पराजित गरेपछि इटालीले इतिहास कोरेको हो ।
मुम्बईको वानखेडे रंगशालामा बिहीबार टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल १९.३ ओभरमै १ सय २३ रनमा अलआउट भयो । मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले आक्रामक ब्याटिङ गरेपछि इटालीले १२.४ ओभरमै लक्ष्य पूरा गरेको थियो । यी दुईले नेपाली फिल्डरलाई एउटा मौका पनि दिएनन् । क्लिन हिट प्रहार गर्दै इटालीको ऐतिहासिक विजयको कथा रचे ।
पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी रूपमा नेपाललाई कुनै अवसर नै दिएन । पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएपछि नेपालले नेट रनरेट सुधार्न इटालीमाथि ठूलो विजय हात पार्ने लक्ष्य राखेको थियो । तर इटालीले ७ ओभरअगावै खेल जितेर दुई पटकको विश्व च्याम्पियन इंग्ल्यान्डलाई उछिन्दै समूह ‘सी’ को तेस्रो स्थानमा उक्लिएको हो ।
इटालीका ब्याटरहरूले कुनै मौका नदिएपछि नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटको हिसाबमा सबैभन्दा ठूलो हार स्वीकार्न बाध्य भयो । नेपाल विश्व ट्वान्टी–२० वरीयतामा आफूभन्दा १० स्थान तलको टोलीसँग पराजित भएको हो । विकेटका हिसाबमा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो हार पनि हो यो । सेप्टेम्बरमा वेस्ट इन्डिजसँग शारजहाँमा पनि नेपालले १० विकेटकै हार बेहोरेको थियो ।
‘विश्व वरीयतामा हामी २७ औं स्थानमा छौं, जबकि यस विश्वकपमा २० टोली खेलिरहेका छन् । नेपालसँगको विजयपछि हाम्रो वरीयता आज राति नै माथि पनि आउन सक्छ,’ नियमित कप्तान वायन म्याडसन घाइते भएपछि इटालीको नेतृत्व गरिरहेका ह्यारी मानेन्टीले भने, ‘हाम्रा १५ मध्ये १२ खेलाडी क्रिकेटभन्दा बाहिर काम गर्छन् । आशा छ आउने दिनका इटालीको क्रिकेटमा सुधार आउने छ र हामीले निरन्तर खेल्न पाउने छौं ।’
पावर प्लेको पहिलो ६ ओभरमा विनाक्षति ६८ रन जोडेको इटालीले १० ओभरमा ९७ रन बटुल्दै विजयको औपचारिकतामात्र बाँकी राखेको थियो । जस्टिन ६० र एन्थोनी ६२ रन बनाई अविजित रहे । जस्टिनले ४४ बल खेल्दै ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।
‘इटालीको जितले अखबारको पहिलो पृष्ठमा स्थान पाउनुपर्ने हो, तर अहिले विन्टर ओलम्पिक चलिरहेको छ । इटालियन अखबारको अन्तिम पृष्ठमा मात्र स्थान बनाउँछ भने पनि हाम्रा लागि ठूलो एक्सपोजर हो,’ इटालीका प्रशिक्षक जोन डेभिसनले भने, ‘नेपालले इंग्ल्यान्डसँग जसरी खेलेको थियो, त्यसबाट केही सिक्नु भनेर मैले हाम्रा खेलाडीलाई भनेको थिएँ । हामीसँगको खेलमा दाबेदार रहेको नेपाल दबाबमा राख्न पाउँदा आनन्द लागेको छ । टस जित्नु पनि हाम्रा लागि भाग्यशाली भयो ।’
१४ हजारभन्दा बढी दर्शक रंगशालामा थिए । त्यसमध्ये अधिकांश नेपाली समर्थकको उपस्थिति थियो । सन् २०१४ यता विश्वकपमा पहिलो विजय हात पार्ने आशामा आएका नेपाली समर्थक सुरुदेखि नै दबिएको ब्याटिङपछि निराश बनेका थिए । ‘अत्यधिक दर्शक हुँदा हामीलाई कुनै दबाब थिएन, दर्शकहरू हामीलाई समर्थन गर्न आएका हुन् । यो हाम्रो सबैभन्दा राम्रो पक्ष पनि हो,’ नेपाली ब्याटर आरिफ शेखले भने, ‘हामीले राम्रो ब्याटिङ गर्नै सकेनौं, न सुरुआत राम्रो हुन सक्यो न त मध्यक्रम । मध्यक्रममा आफूसहित २–३ विकेट झर्दा हाम्रो हातबाट खेल निस्कन पुग्यो ।’
हतारको ब्याटिङ
यसअघि हतारमा देखिएको नेपालको ब्याटिङ सुरुआत राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा १० बलमा ५ रन बनाई आउट भएपछि नेपालले दबाबमा खेलेको थियो । ६ ओभरमा ४६–१ को स्थितिमा रहेको नेपाल १० ओभरमा ६७–३ को स्थितिमा पुग्यो ।
कप्तान रोहित पौडल र आसिफ शेखलाई आउट गर्दै इटाली खेलमा फर्किएको थियो । क्रिसन कालुगामागेको बलमा रोहित बाउन्ड्रीलाइनमा क्याच दिन पुगे । उनले १४ बल खेल्दै २ छक्कासहित २३ रन बनाए । दुई बलपछि आठौं ओभरमा आसिफ पनि बेन मानेन्टीको बलमा स्टम्पआउट हुन पुगे । आसिफले २० बलमा २ चौकासहित २० रन बनाए ।
दीपेन्द्रसिंह ऐरी १८ बलमा १७ रन बनाई बोल्ड आउट भए । उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । लोकेश बम ३ रनमै आउट भए । उनले पनि ठूलो शट प्रहार गर्नेक्रममा बेन मानेन्टीको बललाई बाउन्ड्री लाइनमा क्याच दिन पुगे । ओपनिङ बलरको रूपमा आएका अफब्रेक बलर मानेन्टीले ४ ओभरमा ९ रनमात्र खर्चेर २ विकेट लिए ।
आरिफले बनाएको २७ रन नै नेपालको ठूलो स्कोर थियो । उनले २४ बलमा ३ चौका प्रहार गरे । गुलशन झाले पुनः एक पटक निराश बनाए । उनले ४ बलमा ३ रनमात्र बनाउन सके । नन्दन यादव शून्यमा रनआउट भए ।
करण केसी र सन्दीप लामिछानेले नवौं विकेटमा १४ बलमा २१ रन जोडेपछि मात्र नेपालको स्कोर हेर्नलायक भएको थियो । सन्दीपले ७ बलमा ५ रन बनाए । करण ११ बलमा समान १ चौका र १ छक्कासहित १८ रनमा अविजित रहे । २ बल खेलेका ललित राजवंशी शून्यमै रनआउट भए । कालुगामागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।
नेपालको लगातार दोस्रो हार हो । यसले ‘सुपर एट’ मा पुग्ने सम्भावना लगभग समाप्त पारेको छ । पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित इटालीले उत्कृष्ट पुनरागमन गरेको छ । समूह ‘सी’ मा वेस्ट इन्डिज पहिलो दुवै खेल जितेर शीर्षस्थानमा छ । स्कटल्यान्ड, इटाली, इंग्ल्यान्ड समान दुई खेलमा १ जित र १ हारको स्थितिमा छन् ।
आजका खेल
अस्ट्रेलियाविरुद्ध जिम्बावे ११ः१५ बजे
क्यानडाविरुद्ध यूएई १५ः१५ बजे
नेदरल्यान्ड्सविरुद्ध अमेरिका १९ः१५ बजे
