इंग्ल्यान्डविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध त्यसको कुनै पनि छनक देखाउन सकेन र सबै अर्थमा बिर्सनलायक हार बेहोर्यो ।
मुम्बई — नेपाल ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा इटालीसँग बिहीबार दस विकेटले हारेपछि निराश रह्यो । लगातार दोस्रो खेल हारेपछि नेपालको सुपर एट प्रवेशको सम्भावना कठिन र जटिल बनेको छ ।
नेपाल शून्य अंकमा समूह सी को अन्तिम स्थानमा छ । इंग्ल्यान्डविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध त्यसको कुनै पनि छनक देखाउन सकेन र सबै अर्थमा बिर्सनलायक हार बेहोर्यो ।
खेलपछि आयोजित पोस्ट म्याक कन्फ्रेन्समा नेपालका आरिफ सेखले भने, ‘आजको खेलमा हाम्रो प्रदर्शन राम्रो रहेन, आफूले सक्दो राम्रो खेलेनौं । पावर प्लेमा पनि हाम्रो प्रदर्शन राम्रो रहेन । हाम्रो ब्याटिङ पतनपछि पुनरागमन सम्भव भएन । हामीले चाँडै चाँडै विकेट गुमायौं ।’
'इटालीको बलिङ पनि राम्रो रह्यो । विशेषतः स्पिनरको प्रदर्शन रह्यो,’ आरिफले थपे, ‘हामी चाहन्छौं, टिममाथिको समर्थकको विश्वास कायम रहोस् । अबको खेलमा हामीले थप राम्रो प्रदर्शन गर्नेछौं । हामीलाई समर्थकको दबाब छैन, यसले त हामीलाई राम्रो खेल्न नै प्रेरित गर्ने गर्छ ।’
यस्तै सन्दीप लामिछानेले भने, 'इटालीले राम्रो योजना बनाएर आएको थियो, त्यसैले उनीहरू सफल रहे । हामीले ठूलो लक्ष्य तयार पार्न सकेनौं, त्यसैले यो पनि समस्या भयो । हामीले इटाली सबै क्षेत्रमा पछाडि पारेको हो । हामीमाथि ठूलो अपेक्षा रहेको छ । अबका दुई खेलमा हामीले योजना बनाएर खेल्नेछौं । हामी आफ्ना समर्थकप्रति कृतज्ञ छौं ।’
