ट्वान्टी–२० विश्वकप : इटालीविरुद्ध नेपालको ब्याटिङ

५० ओभरका खेलमा भने नेपालले इटालीलाई तीनै पटक सजिलै पराजित गरेको छ ।

माघ २९, २०८२

विनोद पाण्डे

What you should know

मुम्बई — नेपालले ट्वान्टी–२० विश्वकपमा इटालीविरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । इटालीले मुम्बईको वानखेडे रंगशालामा बिहीबार टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । 

नेपालले अफ स्पिनर शेर मल्लको स्थानमा देब्रेहाते स्पिनर ललित राजवंशीलाई खेलाएको छ । शेरले अघिल्लो खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै आफ्नो पहिलो बलमै विकेट लिएका थिए । 

इंग्ल्यान्ड र वेस्ट इन्डिजले अघिल्लो दिन खेलेको पिचमै नेपाल र इटाली खेलिरहेका छन् । वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्ध १३ छक्का प्रहार गरेको थियो । जबाफमा इंग्ल्यान्डले ६ छक्का मात्र प्रहार गर्न सकेको थियो । 

रोहितसहित नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् । 

इटालीबाट नियमित कप्तान वायन म्याडसन खेलिरहेका छैनन् । स्कटल्यान्डसँग कोलकात्तामा भएको समूहचरणको पहिलो खेलमा उनलाई काँधमा चोट लागेको थियो । उनको स्थानमा हृयारी मानेन्टीले इटालीको कप्तानी गरिरहेका छन् । 

टोलीका तीव्र बलर थोमस ड्राकाले नेपाल प्रिमियर लिग खेलिसकेका छन् । उनले च्याम्पियन लुम्बिनी लायन्सबाट सुदूरपश्चिम रोयल्सविरुद्ध खेलेका थिए । 

ट्वान्टी–२० विश्वकपमा नेपाल तेस्रो र इटाली पहिलो पटक खेलिरहेको छ । नेपाल र इटाली ट्वान्टी–२० मा पहिलो पटक आमने सामने भएका हुन् । ५० ओभरका खेलमा भने नेपालले इटालीलाई तीनै पटक सजिलै पराजित गरेको छ । 

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटालीलाई स्कटल्यान्डले ७३ रनले पराजित गरेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully