इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ

हतारमा खेलेको जस्तो देखिएको नेपालको सुरुआत राम्रो हुन सकेन ।

माघ २९, २०८२

विनोद पाण्डे

What you should know

मुुम्बई — नेपालले ट्वान्टी–२० विश्वकपको इटालीविरुद्धको खेलमा फितलो ब्याटिङ गरेको छ । मुम्बईको वानखेडे रंगशालामा बिहीबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा १ सय २३ रनमा अलआउट भयो । 

हतारमा खेलेको जस्तो देखिएको नेपालको सुरुआत राम्रो हुन सकेन । कुशल भुर्तेल दोस्रो ओभरमा १० बलमा ५ रन बनाई आउट भए । ६ ओभरमा ४६–१ को स्थितिमा रहेको नेपाल १० ओभरमा ६७–३ को स्थितिमा पुगेको थियो । 

कप्तान रोहित पौडल र आसिफ शेखलाई आउट गर्दै इटाली खेलमा फर्किएको थियो । क्रिसन कालुगामागेको बलमा रोहित बाउन्ड्री लाइनमा क्याच दिन पुगे । उनले १४ बल खेली २ छक्का प्रहार गर्दै २३ रन बनाए । दुई बलपछि आठौं ओभरमा आसिफ पनि बेन मानेन्टीको बलमा स्टम्प आउट हुन पुगे । आसिफले २० बल खेली २ चौका प्रहार गरि २० रन बनाए । 

दीपेन्द्रसिंह ऐरी १८ बलमा १७ रन बनाई बोल्ड आउट भए । उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । लोकेश बम ३ रनमै आउट भए । उनले पनि ठूलो शट प्रहार गर्ने क्रममा बेन मानेन्टीको बललाई बाउन्ड्री लाइनमा क्याच दिन पुगे । ओपनिङ बलरको रुपमा आएका अफ ब्रेक बलर मानेन्टीले ४ ओभरमा ९ रनमात्र खर्चेर २ विकेट लिए । 

आरिफले नेपालबाट सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेलि ३ चौका प्रहार गर्दै २७ रन बनाए । गुलशन झाले पुनः एक पटक निराश बनाए । उनले ४ बलमा ३ रनमात्र बनाउन सके । नन्दन यादव शून्यमा रनआउट भए । 

करण केसी र सन्दीप लामिछानेले नवौं विकेटमा १४ बलमा २१ रन जोडेपछि मात्र नेपालको स्कोर हेर्न लायक भएको थियो । सन्दीप ७ बलमा ५ रन बनाई आउट भए । करण ११ बल खेलि समान १ चौका र १ छक्का प्रहार गरि १८ रनमा अविजित रहे । ललित राजवंशी २ बल खेलि शुन्यमा रनआउट भए । कालुगामागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully