इटालीको जित पहिलो पानाको समाचार हो : इटालीका प्रशिक्षक

इटालीले नेपालमाथि ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा नेपाललाई दस विकेटले पराजित गरेपछि उसको सुपर एट प्रवेशको समीकरण कायम रह्यो ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — इटालीका प्रशिक्षक जोन डेविडसनले ट्वान्टी ट्वान्टी विश्वकपमा नेपाललाई दस विकेटले हराउनु ठूलो उपलब्धि रहेको बिहीबार बताएका छन् । प्रशिक्षक डेविडसनले भने, ‘यो जितको हाम्रो लागि ठूलो अर्थ रहेको छ । आजको खेलमा जे भयो, सबै हाम्रो लागि राम्रो रह्यो । हाम्रो लागि आजको जित त्यहाँका पत्रपत्रिका लागि पहिलो पानाको समाचार हुनु पर्नेछ ।’

इटालीले नेपालमाथि ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा नेपाललाई दस विकेटले पराजित गरेपछि उसको सुपर एट प्रवेशको समीकरण कायम रह्यो । इटाली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग हारेको थियो । टिमको कप्तान रहेका ह्यारी मानेन्टीले भने, ‘स्कटल्यान्डविरुद्ध हाम्रो प्रदर्शन राम्रो रहेन, तर आजको जित त्यस्तो रह्यो जसले इटालीको टिम वास्तवमै कस्तो छ भनेर देखाएको छ ।’

प्रशिक्षक डेविडसनले अगाडि भने, ‘अब हाम्रो लक्ष्य सुपर एट प्रवेश हुनेछ । हामीले प्रत्येक दिन केही न केही सिकेका छौं । यो प्रतियोगितामा जुन टिममाथि बढी विश्वास छ, त्यही टिमले हारेको छ भन्दा हुन्छ । आज पनि त्यही भएको हो ।’ इटाली यो विश्वकपमा डेब्यु गरिरहेको छ र आधिकारिक अभ्यास खेलमा पनि राम्रो खेलेको थियो ।

कान्तिपुर

Link copied successfully