शाहब एनपीएल इतिहासमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। बायाँहाते स्पिनर शाहबले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट हात पारे ।
What you should know
काठमाडौँ — शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरी प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
पोखरालाई अन्तिम ओभरमा विजयका लागि २० रन चाहिने अवस्थामा शाहबले पहिलो ३ बलमा लगातार विकेट लिदैं ह्याट्रिक विकेट लिएपछि १ सय ६६ रनको विजय लक्ष्य लिएर आएको पोखरा त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा पूरा २० ओभर खेली १ सय ५२ रनमा अलआउट भयो ।
काठमान्डुको यो लगातार चौथो जित हो । यसले काठमान्डुको शीर्ष २ स्थानमा रहँदै क्वालिफायर १ मा पुग्ने सम्भावनालाई निकै बलियो बनाएको छ । लिग चरणको सबै ७ खेल खेलेको काठमान्डु ५ जितसहित हाल दोस्रो स्थानमा छ ।
शाहब एनपीएल इतिहासममा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । शाहबले अन्तिम ओभरमै ४ विकेट लिएका थिए । देव्रेहाते स्पिनर शाहबले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिएका हुन् । यो एनपीएल इतिहासकै उत्कृष्ट बलिङ पनि हो । गत वर्ष कर्णाली याक्सका विलियम बोसिस्टोले पोखराविरुद्ध नै २८ रन खर्चेर ६ विकेट लिएका थिए ।
ऋषि धवनले ५४ रन बनाई अन्तिम ओभरसम्म पोखराको आशालाई कायमै राखेका थिए । शाहबले उनलाई अन्तिम ओभरको पहिलो बलमा आउट गरे । त्यसपछि शाहबले दोस्रो बलमा विपिन खत्रीलाई स्टम्प आउट गराए भने आकाश चन्दलाई क्याच गराई ह्याट्रिक पूरा गरे । चौथो बलमा सागर ढकालले क्याच गरे पनि अन्तिम बलमा क्याच दिन पुगेपछि शाहबले ६ विकेट लिएका हुन् ।
धवनले ३१ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । धनन्जय लक्षणले २७ बल खेली १ चौकासहित ३० र कप्तान कुशल भुर्तेलले २० बल खेली २ छक्का प्रहार गरी २२ रन बनाए । एडम रोसिङ्टन ५, जेसन रोय १६, तृतराज दास ९, किरण ठगुन्ना ५ रनमा आउट भएका थिए ।
शाहब बाहेक काठमान्डुबाट कप्तान करण केसी र सन्नी पटेलले ४ ओभरमा समान २५ रन खर्चेर २–२ विकेट लिए ।
यसअघि बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकमा टस हारेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभर खेली ८ विकेट गुमाई १ सय ६५ रन बनाएको थियो ।
चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । १९ औं ओभरमा आउट भएका उनले ५ चौका र २ छक्का प्रहार गरे । भीमले १९ बलमै अर्धशतक पूरा गरेका थिए, जुन एनपीएल इतिहासको दोस्रो कम बलमा बनेको अर्धशतक हो । प्लेयर अफ द म्याच भीमले कुल २३ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे ।
काठमान्डुको सुरुआत राम्रो थिएन । आकाश त्रिपाठीलाई पहिलो ओभरमै लक्षणले बोल्ड गरे । रसिद खान १ छक्का प्रहार गरी १२ बलमा ७ रन बनाई आउट भए । मिलिन्द कुमार १३, जोन सिम्पसन २ र आदिल आलम अन्सारी ७ रनमै आउट भएपछि भीमले ठुलो सटहरू खेलेका थिए । अन्तिम २ बलको सामना गरेका कप्तान करण केसी ४ रनमा आउट भए ।
पोखराबाट लक्षणले ४ विकेट लिए । अन्तिम ओभरमा २ विकेट लिएका उनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेका थिए । कुशलले ४ ओभरमा २५ रन खर्चेर २ तथा विपिन खत्री र किरणले १–१ विकेट लिए ।
