पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको छ, अब पोखरामा जित्नै पर्ने दबाब छ।
What you should know
काठमाडौँ — बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।
पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभर खेली ८ विकेट गुमाई १ सय ६५ रन बनाएको हो ।
चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । १९ औँ ओभरमा आउट भएका उनले ५ चौका र २ छक्का प्रहार गरे । भीमले १९ बलमै अर्धशतक पूरा गरेका थिए, जुन एनपीएल इतिहासको दोस्रो कम बलमा बनेको अर्धशतक हो । भीमले कुल २३ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे ।
काठमान्डुको सुरुआत राम्रो थिएन । आकाश त्रिपाठीलाई पहिलो ओभरमै धनन्जय लक्षणले बोल्ड गरे । रशिद खान १ छक्का प्रहार गरि १२ बलमा ७ रन बनाई आउट भए । मिलिन्द कुमार १३, जोन सिम्पसन २ र आदिल आलम अन्सारी ७ रनमै आउट भएपछि भीमले ठुलो सटहरू खेलेका थिए । अन्तिम २ बलको सामना गरेका कप्तान करण केसी ४ रनमा आउट भए ।
पोखराबाट लक्षणले ४ विकेट लिए । अन्तिम ओभरमा २ विकेट लिएका उनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेका थिए । कुशलले ४ ओभरमा २५ रन खर्चेर २ तथा विपिन खत्री र किरण ठगुन्नाले १–१ विकेट लिए ।
काठमान्डुको लिगचरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमान्डुको शीर्ष २ मा पर्दै क्वालिफायर १ खेल्ने सम्भावना बलियो हुनेछ । गत सिजन काठमान्डुले पोखरालाई ६ विकेटले पराजित गरेको थियो, तर दुवै टोली प्लेअफमा पुग्न असफल रहेको थियो ।
पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ । पोखराले चितवनसँग शनिबार लिगको अन्तिम खेल खेल्दै छ । पोखराले अघिल्लो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको थियो । सो खेलमा पोखराले २ सय १ रन बनाएको थियो । पोखरा एनपीएलमा २ सय रन पार गर्ने दोस्रो टोली बनेको थियो ।
कर्णालीसँग पछिल्लो खेल खेलेको टोलीबाट पोखराको टोलीमा कुनै परिवर्तन गरिएको छैन । काठमान्डुबाट सन्नी पटेल खेलिरहेका छन् । उनले जेहर्राड इरसमसको स्थान लिएका हुन् । नामिबियाका कप्तान इरसमस आईएल टी–२० खेल्न दुबई लागिसकेका छन् ।
