एनपीएल : रोसिङ्टनको शतकमा पोखराको प्लेअफ पुग्ने आशा कायमै

रोसिङ्टनको अविजित शतकसँगै पोखराले कर्णालीलाई ३४ रनले हराउँदै प्लेअफको सम्भावना कायम राख्दा कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

NPL: Rossington's century keeps Pokhara's hopes of reaching the playoffs alive

What you should know

काठमाडौँ — एडम रोसिङ्टनको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गरी प्लेअफ पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

रोसिङटनले अविजित १ सय ८ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको पोखराले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली २ विकेट गुमाई २ सय १ रन बनाएको थियो । एनपीएलमा २ सय रन पार गर्ने पोखरा दोस्रो टोली हो । यसै प्रतियोगितामा विराटनगर किंग्सले पोखराविरुद्धै २ सय २० रन बनाएको थियो ।

वाटले आक्रामक अर्धशतक बनाए पनि जबाफमा आएको कर्णाली १९ ओभरमा १ सय ६७ रनमै अलआउट भयो । पोखराले ५ खेलमा दोस्रो विजय हात पारेको हो । प्लेअफमा पुग्ने आशालाई कायम राख्न टोलीले बाँकी रहेको दुई खेल जित्नु पर्ने हुन्छ । कर्णाली प्लेअफको समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ । टोलीले ६ मध्येको १ खेलमात्र जितेको छ । गत सिजनमा तेस्रो भएको कर्णालीले ५ हार बेहोरिसकेको छ ।

वाटले ३४ बलमा ५९ रन बनाएका थिए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । प्रियांक पाञ्चाल २ छक्का प्रहार गरी ११ बलमा १६, जयकिशन कोल्सावाला ६, पवन सर्राफ १४ बलमा समान १ छक्का र चौका प्रहार गरी १९ रनमा आउट भए । नाजिबुल्लाह जाद्रानले १५ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए ।

गुलशन झा ९, दीपेन्द्र सावत १०, कप्तान सोमपाल कामी १३, युनिससिंह ठकुरी ३ रन र विपिन शर्मा शून्यमा आउट भए । कर्णालीबाट ऋिषि धवन र धनन्जय लक्षणले ३ विकेट लिए । भारतका पूर्व तीव्र बलर धवनले ४ ओभरमा ३७ र श्रीलंकाका लक्षणले ४ ओभरमा ३१ रन खर्चे । कप्तान कुशल भुर्तेल, किरण ठगुन्ना, सन्दीप क्षेत्रीले १–१ विकेट लिए ।

रोसिङ्टनको शतक एनपीएल इतिहासमा तेस्रो शतक हो र सबै तीन विदेशी खेलाडीको नाममा रहेको छ । कर्णालीका स्कटिस ब्याटर मार्क वाटले यसै प्रतियोगितामा लुम्बिनी लायन्सविरुद्ध १ सय १४ र गत वर्ष पोखराकै अमेरिकी खेलाडी आन्द्रिज गाउसले लुम्बिनीविरुद्ध १ सय ४ रन बनाएका थिए ।

रोसिङ्टनले ५५ बलमा शतक पूरा गरेका थिए । वाटले लुम्बिनीविरुद्ध ४१ बलमै शतक बनाएका थिए । गाउसले ५४ बलमा शतक बनाएका थिए । ३२ वर्षे रोसिङटनले कुल ५८ बल खेल्दै ११ चौका र ७ छक्का प्रहार गरे ।

कप्तान कुशल भुर्तेल १७ बलमा ३ चौका र १ छक्का प्रहार गरी १८ रनमा आउट भएपछि रोसिङटनले प्रतियोगितामा पहिलो खेल खेलिरहेका इंग्ल्यान्डका विश्वकप विजयी खेलाडी जेसन रोयसँग दोस्रो विकेटमा ७२ बलमा १ सय २७ रनको साझेदारी गरेका थिए ।

रोय ४६ रनमा आउट भए । उनले ३४ बल खेली २ चौका र ३ छक्का प्रहार गरे । उनी जस्तै प्रतियोगितामा पहिलो खेल खेलिरहेका धनन्जय लक्षण ११ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २३ रनमा अविजित रहे । कर्णालीका नन्दन यादवले ४ ओभरमा ३४ र वाटले ३ ओभरमा २४ रन खर्चेर १–१ विकेट लिए । कप्तान सोमपाल कामीले ४ ओभरमा ५० र गुलशन झाले ३ ओभरमा ३५ रन खर्चेर कुनै विकेट लिन सकेनन् । 

कान्तिपुर

Link copied successfully