रिजन ढकालको पुनरागमनसँगै चितवनमा एकमात्र खेलाडी परिवर्तन, काठमान्डु भने अघिल्लो विजयी टोलीकै संयोजनमा मैदानमा उत्रने तयारीमा छ।
काठमाडौँ — बागमती ‘डर्बी’ मा काठमान्डु गोर्खाज र चितवन राइनोज बीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको पहिलो खेलमा प्रतिस्पर्धा हुँदैछ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
चितवनको टोलीमा रिजन ढकाल फर्किएका छन् । उनलाई अमरसिंह रौटेलाका स्थानमा ल्याइएको छ । अघिल्लो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको काठमान्डुको टोलीमा कुनै खेलाडी परिवर्तन गरिएको छैन ।
दुवै टोलीको समान ४ अंक छ । चितवनले ३ र काठमान्डुले ४ खेल खेल्दै क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यो खेल जित्ने टोलीको प्ले अफ पुग्ने सम्भावना बलियो हुनेछ ।
गत सिजन यी दुई टोली आफ्नो पहिलो खेलमा आमने सामने हुँदा चितवनले काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो । समान ८ अंक बोकी चितवन प्लेअफसम्म पुगेको थियो भने काठमान्डु लिग चरणबाटै बाहिरिएको थियो ।
