नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी गत सिजनमा ७ मध्ये ६ खेल हारेर पुछारमा रह्यो । लुम्बिनी यो वर्ष त्यस्तै धमिला सम्झना दोहोर्याउन चाहदैन।
What you should know
काठमाडौँ — लुम्बिनी लायन्स यस्तो टोली हो, जसलाई आफ्नो विगत सम्झेर लिनुपर्ने केही छैन । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी गत सिजनमा ७ मध्ये ६ खेल हारेर पुछारमा रह्यो ।
पहिलो तीन खेलमा हार बेहोरेको लुम्बिनीले चौथो खेलमा गएर चितवन राइनोजलाई ३३ रनले पराजित गरेको थियो । टोलीले गत सिजन जितेको यो एकमात्र खेल थियो । लुम्बिनीले यी सबै धमिला सम्झना ब्युँताउन चाहँदैन ।
विदेशी खेलाडीबाट धोका पाएपछि लुम्बिनीले एकपछि अर्को हार बेहोर्न बाध्य भएको हो । विशेष गरी बलिङमा टोली निकै कमजोर देखिएको थियो । त्यसैले होला टोलीले महँगो रकम हालेर ल्याइएका सूर्य तामाङ, आशुतोष घिरोहिया, अजुन साउदलाई रिलिज गरेर मिनी अक्सनमा ठूलो बजेटका साथ उत्रिएको थियो । मिनी अक्सनबाट विकेटकिपर/ब्याटर दिलीप नाथ, शेर मल्ललाई लिएको छ ।
राष्ट्रिय टोलीबाट देखाएको नेतृत्व क्षमता फ्रेन्चाइज प्रतियोगितामा पनि उतार्नुपर्ने चुनौती रोहितसामु छ । उनको ब्याट चले पनि लुम्बिनीले पहिलो सिजनमा नतिजा हात पार्न सकेको थिएन । उपकप्तान सन्दीप जोरा दुई महिनाअघि वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ६३ रन बनाएयता उच्च मनोबलमा छन् । नेपालको कप्तानी गरेका उनी हङकङ अन्तर्राष्ट्रिय सिक्सेसमा सर्वाधिक रन बनाउने खेलाडी थिए ।
शेर मल्लको आगमनले स्पिन बलिङमा लुम्बिनीलाई ठूलो आशा दिनेछ । दिलीपले विकेटकिपिङबाहेक ब्याटिङमा पनि आफ्नो प्रदर्शन उकास्नुपर्नेछ । अलराउन्डर विवेक यादव घाइते भएका कारण टोलीले एनपीएल अगाडि नै ठूलो आघात सहिसकेको छ । विवेकको स्थानमा लुम्बिनीले सुमित महर्जनलाई टोलीमा समेटिसकेको छ । सुमितले गत वर्ष काठमान्डु गोर्खाजबाट खेलेका थिए । डी’ आर्सी शर्ट, थोमस ड्राका, गुलबद्दिन नैब, जेजे स्मिट, रुबेन ट्रम्पलमेनबाट लुम्बिनीले ठूलो आशा राखेको छ ।
टिममा को-को छन् ?
रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, दुर्गेश गुप्ता, सुमित महर्जन, तिलकराज भण्डारी, अभिषेक गौतम, विशाल पटेल, दिनेश अधिकारी, डी’ आर्सी शर्ट, थोमस ड्राका, गुलबद्दिन नैब, जेजे स्मिट, रुबेन ट्रम्पलमेन ।
