अघिल्लो वर्षभन्दा चितवन राइनोजको स्थिति फेरिएको छ । जुन हिसाबले चितवनको टिम बनाइएको छ, त्यस हिसाबमा टोलीलाई दाबेदारमा हेर्न सकिन्छ ।
What you should know
काठमाडौँ — गत सिजन लिग सुरु हुनुअघि चितवन राइनोजलाई सबैभन्दा कमजोर टोलीको रुपमा हेरिएको थियो । अक्सनमा चितवनले सोचेअनुरुप खेलाडी पाउन नसक्दा टोली कमजोर देखियो । अझ रवि वोपारा र सोहेल तनवीर जस्ता भेट्रान खेलाडी भित्र्याउँदा चितवनले सामाजिक सञ्जालको आफ्नै पेजमा चर्को आलोचना सहनुपरेको थियो ।
तर चितवन नसोचेको प्रदर्शन गर्दै प्लेअफमा पुग्यो । त्यसमा दुई प्रमुख खेलाडी यिनै वोपारा र तनवीर थिए । फाइनल अघिसम्म वोपारा सर्वाधिक रनकर्ता थिए । काठमान्डु गोर्खाजसँगको पहिलो खेलमै ५ विकेट लिएर तनवीरले विकेटको वर्षा गराउन सुरु गरेका थिए । उनका देव्रेहाते ओपनिङ जोडी रिजन ढकाल र कप्तान कुशल मल्लको अलराउन्ड प्रदर्शनले चितवनलाई उकासेको थियो ।
एक वर्षपछि चितवनको स्थिति फेरिएको छ । जुन हिसाबले चितवनको टिम बनाइएको छ, त्यस हिसाबमा टोलीलाई दाबेदारमा हेर्न सकिन्छ । यसको एउटा कारण टोलीले घरेलु खेलाडीमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका देव खनाल र अर्जुन साउदलाई थपेर ब्याटिङ मजबुत बनाउने प्रयास गरेको छ ।
गत सिजन देवले कर्णालीबाट उल्लेखनीय प्रदर्शन देखाउन सकेका थिएनन् । अर्जुन पनि लुम्बिनीमा त्यस्तै नै थिए । अर्जुनमा जुन क्षमता छ, त्यो उनले ट्वान्टी–२० मा देखाउन सकिरहेका छैनन् । चितवनबाट उनले आफ्नो खेल कसरी अगाडि बढाउँछन्, त्यो हेर्नेलायक पक्कै हुनेछ ।
इंग्लिस ब्याटर डेविड मलानलाई थपिएपछि कम्तीमा कागजमै भए पनि चितवन बलियो देखिएको हो । पहिलो सिजनमा सुदूरपश्चिमबाट खेल्दै प्लेयर अफ द सिरिज बनेका सैफ जैबको आगमनले चितवनलाई दाबेदारको रुपमा उभ्याएको हो । वोपारा, तनवीर, मलान र जैबको उपस्थितिमा युगान्डाका अल्पेस रामजानी ‘ब्याकअप’ को भूमिकामा हुने निश्चित छ ।
चितवनले नेपालका तीव्र गतिका पूर्व बलर कलाम अलीलाई प्रमुख प्रशिक्षकको जिम्मा दिएको छ । गत वर्ष उमेश पटवाल चितवनको प्रशिक्षक रहँदा कलाम उनका सहायक थिए ।
टिममा को-को छन् ?
कुशल मल्ल (कप्तान), रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, अर्जुन साउद, अमरसिंह राउटेला, विपिन रावल, दीपक बोहरा, विपिन आचार्य, गौतम केसी, रन्जित कुमार, सोहेल तनवीर, रवि वोपारा, डेविड मलान, सैफ जैब, अल्पेस रामजानी ।
