कर्णालीलाई घरेलु खेलाडीको साथ

कर्णाली याक्सको कप्तानी गरिरहेका सोमपालले यसअघि आफ्नो कप्तानीमा डीपीएल र ईपीएल जितिसकेका छन् । एनपीएलको सपना उनले पक्कै देखेको हुनुपर्छ ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Karnali with domestic players

What you should know

काठमाडौँ — नेपाली राष्ट्रिय टोलीका चार तीव्र बलर अलराउन्डरमध्ये तीन सोमपाल कामी, गुलशन झा, नन्दन यादव कर्णालीमै छन् । यही नै हो कर्णालीको खुबी । अस्ट्रेलियाबाट फर्किएपछि नन्दनले एनपीएलमा उत्कृष्ट पुनरागमन गरे । तर अक्सनमा आठै टोलीले अधिकतम १५ लाख भाउ लगाएका गुलशनका लागि पहिलो सिजनको एनपीएल खासै सम्झनलायक बनेन ।

यही एउटा प्रमुख कारण थियो, कर्णाली फाइनल पुग्नु अघि नै रोकिनु । अहिले राष्ट्रिय टोलीबाट भने गुलशन उच्च लयमा छन् । गुलशनले यही लय एनपीएलमा पनि देखाउने आशा कर्णालीले राखेको छ ।

कर्णाली गत सिजन तेस्रो भएको थियो । पहिलो दुई खेलमा पराजित कर्णालीलाई अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो आएपछि उकासेका थिए । उनीसहित अफगानिस्तानका नाजिबुल्लाह जाद्रान, भारतका प्रियांक पञ्चाल र जयकिशन कोल्सावाला तथा स्कटल्यान्डका मार्क वाट कर्णालीका विदेशी खेलाडी हुन् । 

कर्णालीको ब्याटिङ विशेष गरी विदेशी खेलाडीमै भर परेको देखिन्छ । तर पवन सर्राफको आगमनले टोलीको ब्याटिङलाई अझ मजबुत बनाएको छ । दीपेन्द्र रावत र दीपक डुम्रे अर्का दुई घरेलु ब्याटर हुन् । ट्यालेन्ट हन्टबाट आएका विपिन शर्माले गत सिजन एनपीएलमा ‘इमर्जिङ’ खेलाडीको पुरस्कार जितेका थिए ।

अर्का स्पिनर युनिशविक्रम सिंहका साथ कर्णालीले युवा लेग स्पिनर युवराज खत्रीलाई लिएको छ । त्यसैले कर्णालीको बलिङ आक्रामक पूर्ण रूपमा घरेलु खेलाडीमै हुने निश्चित जस्तै छ । 

सोमपालले आफ्नो कप्तानीमा डीपीएल र ईपीएल जितिसकेका छन् । एनपीएलको सपना उनले पक्कै देखेको हुनुपर्छ । 

टिममा को-को छन् ?

सोमपाल कामी, गुलशन झा, पवन सर्राफ, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, अर्जुन घर्ती, युनिशविक्रम सिंह, दीपक डुम्रे, दीपेन्द्र रावत, इमरान शेख, मार्क वाट, म्याक्स ओ’डड, विलियम बोसिस्टो, नाजिबुल्लाह जाद्रान, प्रियांक पञ्चाल, जयकिसन कोल्सावाला । 

कान्तिपुर

Link copied successfully