दिल्लीको जित यात्रामा मुम्बईको विराम

वैशाख १, २०८२

एजेन्सी

Mumbai pauses in Delhi's victory journey

दिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सको जित यात्रामा आइतबार मुम्बई इन्डियन्सले पूर्णविराम लगाएको छ । लगातार चार खेल जितेको दिल्ली आफ्नै घरेलु मैदानमा १२ रनले पराजित भएको हो । जितका लागि २ सय ६ रन पछ्याएको दिल्ली १९ ओभरमा १ सय ९३ रन बनाएर अलआउट भयो ।

दिल्लीले अन्तिम तीन विकेट लगातार तीन बलमा गुमाएको थियो र ती सबै रनआउट भएका थिए । दिल्लीले आक्रामक सुरुआत लिए पनि त्यसलाई कायम राख्न सकेन र इनिङ्सको अन्त्यतिर लगातार विकेट गुमाउन बाध्य रह्यो । दिल्लीका लागि करुण नायरले ४० बलमा ८९ रन बनाए । उनलाई ३३ रन बनाएका अभिषेक पोरेलले बलियो साथ दिए ।

नायरले १२ चौका र पाँच छक्का प्रहार गरे । उनीहरू आउट भएपछि दिल्लीको ब्याटिङ क्रम लडखडाएको थियो । मुम्बईका लागि कर्ण शर्मा सर्वाधिक सफल बलर रहे र उनले ३६ रनमा तीन विकेट लिए । हारपछि दिल्ली आठ अंकमा दोस्रो स्थानमा झरेको छ । मुम्बई भने दोस्रो जित निकाल्दै चार अंक बटुल्न सफल रह्यो । टिम सातौं स्थानमा पनि उक्लेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले पाँच विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । मुम्बईको स्कोर तिलक वर्माको अर्धशतकीय इनिङ्समा टिकेको थियो । उनले ३३ बलको मात्र सामना गरेर ५९ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै रायन रिकेल्टन, सूर्यकुमार यादव र नमन धीरले ब्याटबाट महत्त्वपूर्ण प्रदर्शन गरे ।

त्यसमध्ये रिकेल्टनले ४१, यादवले ४० र धीरले ३८ रन बनाए । वर्माले यादवसँग ६० रनको साझेदारी गरे । मुम्बईका लागि ओपनर रोहित शर्मा फेरि एकपल्ट असफल सावित भए र उनले १८ रन मात्रै जोड्न सके । दिल्लीका बलरमध्ये कुलदीप यादव सबैभन्दा सटीक सावित भए । उनले २३ रन मात्र खर्चेर दुई विकेट लिए ।

बेङलुरुको सजिलो जित

जयपुर– ओपनर जोडी विराट कोहली र फिल साल्टले अर्धशतक बनाएपछि आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर बेङलुरुले राजस्थान रोयल्सलाई सजिलै नौ विकेटले हराएको छ । कोहली र साल्टले पहिलो विकेटका लागि आक्रामक ९२ रनको साझेदारी गरे । साल्टले ३३ बलमा ६५ रन बनाए र यो उनको यस सिजनको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । उनले ५ चौका र ६ छक्का प्रहार गरे । उनी नै प्लेयर अफ द म्याच रहे । कोहलीले भने अविजित रहेर ४५ बलमा ६२ रन बनाए । उनको ब्याटबाट ४ चौका र २ छक्का निस्केको थियो ।

बेङलुरुले १५ बलको खेल बाँकी छँदै विजयी लक्ष्य पूरा गरेको थियो र १ सय ७६ रन जोडेको थियो । बेङलुरुका लागि देवदत्त पाडिकलले पनि २८ बलमा ४० रन बनाए र उनी अविजित रहे । त्यस अगाडि राजस्थानले ४ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो र त्यसमा ओपनर यशस्वी जयसवालले ४७ बलमा ७५ रन बनाए ।

उनले कप्तान सन्ज सामसन र रियान परागसँग दुई फलदायी साझेदारी पनि गरे । जयसवालको ब्याटबाट १० चौका र २ छक्का निस्केको थियो । तर राजस्थानले खडा गरेको स्कोर चुनौतीपूर्ण भने रहन सकेन । यो जितपछि बेङलुरुको आठ अंक भएको छ र तेस्रो स्थानमा छ । राजस्थान भने चार अंकमा सीमित रहेर सातौं स्थानमा छ । 

एजेन्सी

Link copied successfully