अभिषेकको शतक

चैत्र ३१, २०८१

एजेन्सी

Abhishek's century

हैदराबाद — अभिषेक शर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकै एउटा उत्कृष्ट इनिङ्स खेलेपछि सनराइजर्स हैदराबादले शनिबार पन्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

सिजनको पहिलो खेल जितेर त्यसपछिको चार खेल हारेको सनराइजर्स यो जितपछि पुछारबाट आठौं स्थानमा उक्लेको छ । अभिषेकले ५५ बलमा १ सय ४१ रन बनाएपछि सनराइजर्सले २ सय ४६ रनको 

लक्ष्य ९ बलअगाडि पूरा गरेको थियो । प्लेयर अफ द म्याच अभिषेकले ४० बलमै शतक पार गरे । उनले आफ्नो इनिङ्समा कुल १४ चौका र १० छक्का हाने । 

अभिषेक र ट्राभिस हेडले पहिलो विकेटमा १३ ओभरभित्र १ सय ७१ रन जोडेपछि सनराइजर्सको जित निश्चित भयो । हेडले ३७ बलमा ९ चौका र ३ छक्कासहित ६६ रन बनाए । हेनरिक क्लासेन १४ बलमा २ चौका र १ छक्कासहित २१ र इशान किशन ६ बलमा ९ रन बनाई अविजित रहे । 

यसअघि टस जितेर ब्याटिङ रोजेको पन्जाबले ६ विकेट गुमाई २ सय ४५ रन बनाएको थियो । प्रियांश आर्य १३ बल खेल्दै २ चौका र ४ छक्कासहति ३६, प्रभसिमरन सिंह २३ बल खेल्दै ७ चौका र १ छक्कासहित ४२, नेहल बाधेरा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए । 

कप्तान श्रेयस ऐरले सर्वाधिक ८२ रन बनाए । उनले ३६ बलमा समान ६ चौका र छक्का प्रहार गरे । इनिङ्सको अन्तिम चारै बलमा मोहम्मद सामीलाई छक्का प्रहार गरेका मार्कुस स्टोइनिस ११ बलमा ३४ रनमा अविजित रहे । मोहम्मद सामीले ४ ओभरमा कुनै विकेट नलिई ७५ रन खर्चिन पुगे । हर्शल पटेलले ४२ रन खर्चेर ४ र इशान मालिङ्गाले ४५ रन खर्चेर २ विकेट लिए । 

लखनउको महत्त्वपूर्ण जित

मिचेल मार्स अनुपस्थित रहे पनि लखउन सुपर जायन्ट्सले शनिबार पहिलो खेलमा गुजरात टाइटन्सलाई ६ विकेटले हराएर तेस्रो स्थानमा उक्लिएको छ । शुभमन गिल र साइ सुदर्शनले पहिलो १० ओभरमा विना क्षति १ सय २० रन जोडेर सनसनीपूर्ण सुरुआत दिलाए पनि गुजरातले त्यसपछि ८ ओभरमा ६ विकेट गुमाउँदा ६० रनमात्र बनाउन सक्यो । टोलीको योगफल १८०–६ हुन पुगेको थियो । 

१३ औं ओभरको पहिलो बलमा गिल ६० रन बनाई आउट भए । उनले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गरे । त्यसको अर्को ओभरमा रवि विष्णोइले सुदर्शर्नलाई आउट गरे । सुदर्शन ३७ बलमा ७ चौका र १ छक्कासहित ५६ रनमा आउट भए । तर त्यसपछि भने जोस बटलर १४ बलमा १६, वासिङ्टन सुन्दर २, सेरफन रदरफोर्ड १९ बलमा २२ रनमा आउट भए । शाहरूख खान ६ बलमा ११ रन बनाई अविजित रहे । 

एकाना रंगशालामा लखनउका शार्दूल ठाकुरले ओभरमा ३४ र विष्णोइले ४ ओभरमा ३६ रन खर्चेर २–२ तथा दिग्वेश राठीले ४ ओभरमा ३० र अभेष खानले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए । 

मार्सको स्थानमा आएका ऋषभ पन्तले एडेन मारक्रमसँग ६.२ ओभरमा ६५ रन जोडेपछि लखनउले ३ बल अगाडि नै १ सय ८६ रन बनाई गुजरातको लगातारका जित यात्रा रोकिदिएको थियो । १० वर्षयता पहिलो पटक ओपनिङमा खेलिरहेका ऋषभले १८ बलमा ४ चौकासहित २१ रन बनाए । प्लेयर अफ द म्याच मारक्रमले ३१ बलमा ९ चौका र १ छक्का प्रहार गरी ५८ रन बनाए । 

उत्कृष्ट फर्म रहेका निकोलस पूरनले अर्को म्याच विजयी इनिङ्स खेले । उनले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ६१ रन बनाए । डेबिड मिलर ७ रनमै आउट भए पनि आयुष बदोनीले २० बलमा अविजित २८ र अब्दुल समादले २ रन बनाएर लखनउलाई जिताए । गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा २६ रनमात्र खर्चेर २ विकेट लिए । 

एजेन्सी

Link copied successfully