बेंगलुरु — दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार चौथो विजय हात पारेको छ । केएल राहुल र ट्रिस्टन स्टब्सको अविजित शतक साझेदारी बनाएपछि दिल्लीले बिहीबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ६ विकेटले पराजित गर्यो । आरसीबीको यो दोस्रो हार हो । टोलीले दुवै हार घरेलु मैदानमा बेहोरेको छ ।
राहुल र स्टब्सले ५५ बलमा १ सय ११ रनको साझेदारी गरेपछि यस सिजनको प्रतियोगितामा एकमात्र अपराजित टोली दिल्लीले १ सय ६४ रनको लक्ष्य १७.५ ओभरमा १ सय ६९ रन बनाउँदै पूरा गरेको थियो । प्लेयर अफ द म्याच राहुलले ५३ बल खेल्दै ७ चौका र ६ छक्कासहित ९३ तथा स्टब्सले २३ बल खेल्दै ४ चौका र १ छक्कासहित ३८ रन बनाई अविजित रहे ।
ओपनरद्वय फाफ डु प्लेसिस २ र ज्याक फ्रेसर म्याकगुर्क ७ रनमै आउट भए । अभिषेक पोरेल ७ र कप्तान अक्षर पटेल १५ रनमै आउट भए पनि राहुल र स्टब्सले दबाब नलिएर खेलेका थिए । आरसीबीका भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङमा आएको आरसीबीले ४ ओभरभित्रै ६० रन बनाए पनि अन्त्यमा १६३–७ को स्कोरमा खुम्चिएको थियो । ओपनरद्वय फिल साल्टले १७ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरेर ३७ र विराट कोहलीले १४ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाए । साल्टलाई रनआउट गरेपछि दिल्लीले इनिङ्सभर आरसीबीलाई दबाबमा राखेको थियो । कप्तान रजत पाटिदारले २३ बलमा २५ रन बनाए ।
इनिङ्सको अन्त्यमा टिम डेविडले २० बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरेर ३७ रन बनाएपछि मात्र आरसीबीको स्कोर १ सय ५० रनमाथि पुगेको थियो । दिल्लीका विपराज निगमले ४ ओभरमा १८ र कुलदीप यादवले ४ ओभरमा १७ रन खर्चेर २–२ विकेट लिए ।
