अहमदाबाद — साइ सुदर्शनको आक्रामक ८२ रनको मदतमा गुजरात टाइटन्सले बुधबार इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । गुजरातको ५ खेलबाट ८ अंक भएको छ ।
यसअघि शीर्षमा रहेको दिल्ली क्यापिटल्स भने ६ अंकसहित दोस्रो स्थानमा रह्यो । जितका लागि २ सय १८ रन लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५९ रनमात्र बनाउन सक्यो । त्यसमा सिमरन हेटमारले सर्वाधिक ५२ रन बनाए । उनले ३२ बलको सामना गरे । प्रसिद्ध कृष्णको बलमा आउट हुनु अगाडि उनले ४ चौका र ३ छक्का आफ्नो नाममा लेखाए ।
कप्तान सन्जु सिमसनले ४१ रनको योगदान गरे । उनले ४ चौका र २छक्का प्रहार गरे । रियान परागले २६ रन बनाए । हारले राजस्थान चार अंकमै सीमित रहेर सातौं स्थानमा रह्यो । गुजरातका बलरमध्ये प्रसिद्ध सबैभन्दा सफल रहे । उनले ४ ओभरमा २४ रन दिएर तीन विकेट लिए ।
टस हारेर पहिले ब्याटिङका लागि उत्रेको गुजरातले ६ विकेटमा २ सय १७ रन बनाएको थियो । सुदर्शनले ५३ बलको मात्र सामना गर्दै ८ चौका तथा ३ छक्का प्रहार गरे । गुजरातको योगफलमा जस बटलर र मसुद शाहरूख खानको समान ३६ रनको योगदान रह्यो । अन्त्यतिर राहुल तेवाटिया २४ रनमा नटआउट रहे । राजस्थानका लागि तुसार देशपाण्डे र महेश थिक्षनाले २–२ विकेट लिए ।
