इडेन गार्डेनमा कोलकाता स्तब्ध

इन्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन खेलमा आरसीबीद्वारा कोलकाता नाइट राइडर्स ७ विकेटले पराजित

चैत्र १०, २०८१

एजेन्सी

Kolkata stunned at Eden Gardens

कोलकाता — विराट कोहली र फिल साल्टले आक्रामक सुरुआत गरेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग क्रिकेटको १८ औं संस्करणको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले स्तब्ध बनाएको छ ।

उनीहरूले पहिलो विकेटमा ९ ओभरभित्र ९५ रन जोडेपछि आरसीबीले १ सय ७५ रनको लक्ष्य १६.२ ओभरमा १ सय ७७ रन बनाएर पूरा गर्‍यो । आरसीबीबाट लगातार १८ औं सिजन खेलिरहेका कोहलीले ३६ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरी अविजित ५९ रन बनाए ।

लिम लिभिङस्टोन ५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा अविजित रहे । गत सिजन कोलकातालाई आईपीएल उपाधि दिलाउन प्रमुख भूमिका खेलेका साल्टले ३१ बल खेल्दै ९ चौका र २ छक्कासहित ५६ रन बनाए । ‘इम्प्याक्ट प्लेयर’ को रूपमा आएका देवदत्त पाडिकल १० रन बनाई सुनिल नारिनको बलमा आउट भए । कप्तान रजत पटिदारले १६ बल खेल्दै ५ चौका र १ छक्कासहित ३४ रन बनाए । 

कप्तानको रूपमा फर्किएका अजिन्क्या रहानेले सानदार अर्धशतक बनाए पनि क्रुनाल पाण्ड्ये र जेसल हेजलउडको सानदार बलिङपछि टस जितेर फिल्डिङ रोजेको आरसीबीले कोलकातालाई १७४–८ को स्कोरमा रोकेको थियो । 

रहानेले ३१ बलमा ५६ रन बनाए । सोक्रममा उनले ६ चौका र ४ छक्का प्रहार गरे । क्विन्टन डी कक ४ रनमै आउट भए पनि रहाने र सुनिल नारिनले दोस्रो विकेटमा ६१ बलमा १ सय ३ रनको साझेदारी गरे । नारिनले २६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । 

तर यी दुई ४ बल अन्तरमा आउट भए पनि आरसीबी खेलमा फर्किएको थियो । नारिनलाई रसिक सलाम र रहानेलाई पाण्ड्येले आउट गरे । आफ्नो अर्को ओभरमा पाण्ड्येले बैंकटेस ऐरलाई ६ रनमा बोल्ड गरे । अंगकृष रघुवंशीले २२ बलमा २ चौका र १ छक्कासहित ३० र रिंकु सिंहले १० बलमा १२ रन बनाए । तर कोलकाताले अन्तिम १० ओभरमा ६७ र अन्तिम ५ ओभरमा २९ रनमात्र जोड्न सकेको थियो । 

पाण्ड्येले ४ ओभरमा २९ रनमात्र खर्चेर ३ विकेट लिए । इनिङ्सको अन्तिम ओभरमा पहिलो ३ बल डट गराएका हेजलउडले त्यस ओभरमा ५ रनमात्र खर्चे । उनले कुल ४ ओभरमा २२ रनमात्र खर्चेर २ विकेट लिए । यश दयाल, सलाम र सूर्यांश शर्माले १–१ विकेट लिए ।

एजेन्सी

Link copied successfully