एनपीएलमा सुदूरपश्चिमले पहिलो पटक जित्यो टस, कर्णाली ब्याटिङमा

पुस १, २०८१

कान्तिपुर संवाददाता

Sudurpaschim won the toss for the first time in NPL, Karnali batting

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो पटक टस जितेको छ । कर्णाली याक्सविरुद्ध सोमबारको खेलमा सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णालीलाई ब्याटिङका लागि बोलाएको छ ।

प्लेअफ र क्वालिफायर्स १ को समिकरणको हिसाबमा दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ । सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक हिसाबमै शीर्ष टोली बनेर क्वालिफायर्स १ मा पुग्ने छ । ६ खेलमा ५ खेल जितेर १० अंकका साथ शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको कर्णालीसँगको यस खेल अघि नै शीर्ष २ टोली भित्र पर्ने निश्चित जस्तै छ ।

पहिलो दुई खेल हारेको कर्णालीले त्यसपछि चार खेल जितेर ८ अंकका साथ चौथो स्थानमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ, त्यसमा शीर्ष दुई टोली फाइनल पुग्न क्वालिफायर्स १ मा भिड्ने छन् भने तेस्रो र चौथो हुने टोली इलिमिनेटरमा खेल्ने छन् ।

सुदूरपश्चिममाथि विजय हात पारे कर्णाली शीर्ष दुई भित्र परेर क्वालिफायर्स १ मा पुग्ने सम्भावना बलियो पनि छ । तर ठूलो हारले कर्णाली बाहिर भने पनि सक्ने छ । चितवन राइनोज, कर्णाली र काठमान्डु गुर्खाजको समान ८ अंक छ । राम्रो रन रेट भएको कारण चितवन तेस्रो टोलीको रुपमा प्लेअफमा पुगिसकेको छ ।

कर्णालीले बनाएको लक्ष्य सुदूरपश्चिमले १२ ओभर भित्र पूरा गरेमा कर्णाली बाहिरिएर गुर्खाज शीर्ष चारमा पर्नेछ । सुदूरपश्चिमले १२ ओभरपछि लक्ष्य पूरा गरेमा कर्णाली प्लेअफमा सुरक्षित हुनेछ । पोखरा एभेन्जर्समाथि आइतबार ५ रनको विजय हात पारेको सुदूरपश्चिमले आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन । कर्णालीले युनिसविक्रम शाहीको स्थानमा रित गौतमलाई खेलाएको छ । 

कान्तिपुर

Link copied successfully