काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ५४ रनको लक्ष्य दिएको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५३ रन बनायो ।
प्रतियोगितामा ब्याटिङबाट पूर्ण रूपमा असफल रहेका आरिफ शेखले अविजित ४२ रन बनाएपछि सुदूरपश्चिमले पोखरालाई चुनौतीपूर्ण स्कोर दिन सफल भएको हो । प्रतियोगिताको यसअघिका ५ खेलमा २२ रनमात्र बनाउन सकेका आरिफले ३८ बल खेलि २ चौका र १ छक्का प्रहार गरे ।
सैफ जैब ९, विनोद भण्डारी १४, ब्रान्डन म्याकमुलेन १६ बलमा १ चौका र २ छक्कासहित २३, हरमित सिंह १३, कप्तान दीपेन्द्रसिंह ऐरी १६ बलमा १ छक्कासहित २० रन बनाई आउट भए । इशान पाण्डे ११ बलमा १० रन बनाई रिटायर्ड आउट भए । उनको स्थानमा आएका स्कट कुग्लेनले ३ बलमा २ रनमात्र बनाउन सके । नरेश बुढाएर ३ बल खेली ६ रनमा अविजित रहे ।
तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर
कुशलले ४ ओभरमा २७ खर्चेर २ विकेट लिए । रेयमोन रिफरले ४ ओभरमा २४, माइकल लिस्कले ४ ओभरमा २७ र सागर ढकालले ४ ओभरमा २९ रन खर्चेर १–१ विकेट लिए ।
सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक रुपमा प्लेअफमा स्थान पक्का भई क्वालिफायर्स १ को नजिक पुग्ने छ । टोलीले सोमबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा कर्णाली याक्सको सामना गर्दैछ ।
चार दिनअघि जनकपुर बोल्ट्सविरुद्ध विजय हात पारेको टोलीबाट सुदुरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन । अघिल्लो दिन काठमान्डु गुर्खाजसँग पराजित पोखराले ३ खेलाडी परिवर्तन गरेको छ । टोलीले आकर्षित गोमिल, आकाश चन्द र नारायण जोशीको स्थानमा जेन मलिक, किरण ठगुन्ना, सुदीप अर्याललाई खेलाएको छ ।
ट्यालेन्ट हन्टबाट आएका सुदीपको प्रतियोगितामा यो पहिलो खेल हो । उनले २ ओभरमा १९ रन खर्चेर कुनै विकेट लिन सकेनन् । उनका बलमा लिस्कले आरिफको क्याच छाड्न पुगेका थिए ।
