सुमित र करणको ब्याटिङले काठमान्डु गुर्खाजको सनसनीपूर्ण जित

मंसिर १९, २०८१

विनोद पाण्डे

Sumit and Karan's batting led to a sensational win for Kathmandu Gurkhaz

काठमाडौँ — करण केसीले कप्तानी इनिङ्स र सुमित महर्जनले सानदार इनिङ्स खेलेपछि काठमान्डु गुर्खाजले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । गुर्खाजले १ सय ५० रनको लक्ष्य ३ बल अगाडि पुरा गरेको थियो ।

स्कोर बराबरी भएको समयमा सुमितले चौका प्रहार गर्दै गुर्खाजलाई जिताएका हुन् । उनले ३७ बल खेली ३ चौका र १ छक्का प्रहार गरी अविजित ४० रन बनाए । करणले १० बल खेली समान २ चौका र छक्का प्रहार गरि २८ रन बनाए । टिमलाई जितका लागि ७ रन आवश्यक भएको समयमा उनी १९ औं ओभरको अन्तिम बलमा बाउन्ड्री लाइनमा क्याच दिन पुगेका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ४९ रन बनाएको हो । गुर्खाजका ओपनर शंकर राना ७ बलमा ६ रन बनाई रनआउट भएका थिए । स्टेफन इस्किनाजी ३, भिम सार्की ९ रनमा आउट भएपछि गुर्खाज दबाबमा परेको थियो । माइकल लेभिटले १९ बल खेली २ चौका र १ छक्कासहित २२ रन बनाए ।

Sumit and Karan's batting led to a sensational win for Kathmandu Gurkhazतस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

तर नामिबियाका कप्तान जेहरार्ड इरसमसले सुझबुझ खेल्दै २८ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३८ रन बनाएका थिए । कर्णालीबाट कप्तान सोमपाल कामीसहित, नन्दन यादव, विपिन शर्मा, गुलशन झा र जिसन मक्सुदले १–१ विकेट लिएका थिए ।

यसअघि शिखर धवनले ५१ बलमा ७२ रन बनाएपछि कर्णालीले निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । उनले ४ चौका र ५ छक्का प्रहार गरे । धवनले १८ औं ओभरमा करणको लगातार बलमा छक्का र चौका प्रहार गरी ४२ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । धवनले १९ औं ओभरको पहिलो दुई बलमा नथान साउटरलाई लगातार छक्का प्रहार गरेका थिए ।

Sumit and Karan's batting led to a sensational win for Kathmandu Gurkhazधवनसँगै मक्सुद ११ बलमा १ चौका प्रहार गरी १४ रन बनाई अविजित रहे । यी दुईले छैटौं विकेटमा ३३ बलमा ६५ रनको अविजित साझेदारी गरेका थिए । करणले खेलको पहिलो ओभरमै देव खनाललाई शून्यमा एलबीडब्लु आउट गरेका थिए । चाडविक वाल्टनले ५ चौका प्रहार गर्दै १५ बलमा २१ रन बनाए । उनलाई जेहरार्ड इरसमसको बलमा करणले सानदार क्याच लिई पेभेलियन फर्काएका थिए ।

Sumit and Karan's batting led to a sensational win for Kathmandu Gurkhazबाबर हायत १८ बल खेली १ छक्कासहित १३ रन बनाई दीपेश कँडेलको बलमा बोल्ड भए । आफूले सामना गरेको पहिलो बलमा चौका प्रहार गरेका गुलशन १९ बलमा १२ रन बनाई इरसमसको बलमा स्टम्प आउट भए । अर्जुन घर्तीलाई ४ रनमा नथान साउटरले बोल्ड गरे । गुर्खाजबाट इरसमसले ४ ओभरमा २९ रन खर्चेर २, करणले ३ ओभरमा १९, दीपेशले १ ओभरमा ७ र साउटरले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए ।

गुर्खाजको यो पहिलो जित हो । टोली पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णालीको यो लगातार दोस्रो हार हो । टोली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग ८ विकेटले पराजित भएको थियो । 

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully