एनपीएल : काठमान्डु गुर्खाजलाई १ सय ५० रनको लक्ष्य

काठमान्डु गुर्खाजविरुद्ध कर्णाली याक्स

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

NPL: 150 runs target for Kathmandu Gurkhaz

काठमाडौँ — शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ । काठमाडौंका कप्तान करण केसीले टस जितेपछि ब्याटिङमा आएको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई १ सय ४९ रन बनाएको हो ।

धवनले ५१ बलमा ७२ रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । धवनले १८ औं ओभरमा करणको लगातार बलमा छक्का र चौका प्रहार गरि ४२ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । धवनले १९ औं ओभरको पहिलो दुई बलमा नथान साउटरलाई लगातार छक्का प्रहार गरेका थिए ।

करणले खेलको पहिलो ओभरमै देव खनाललाई शून्यमा एलबीडब्लु आउट गरेका थिए । चाडविक वाल्टनले ५ चौका प्रहार गर्दै १५ बलमा २१ रन बनाए । उनलाई जेहरार्ड इरसमसको बलमा करणले सानदार क्याच लिई पेभेलियन फर्काएका थिए । बाबर हायत १८ बल खेली १ छक्कासहित १३ रन बनाई दीपेश कँडेलको बलमा बोल्ड भए ।

आफूले सामना गरेको पहिलो बलमा चौका प्रहार गरेका गुलशन झा १९ बलमा १२ रन बनाई इरसमसको बलमा स्टम्प आउट भए । अर्जुन घर्तीलाई ४ रनमा नथान साउटरले बोल्ड गरे । गुर्खाजबाट इरसमसले ४ ओभरमा २९ रन खर्चेर २, करणले ३ ओभरमा १९, दीपेशले १ ओभरमा ७ र साउटरले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए ।

काठमान्डु पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले र कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

कान्तिपुर

Link copied successfully