एनपीएल : दीपेन्द्रको आक्रामक अर्धशतकमा सुदूरपश्चिमको उच्च योगफल

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

NPL: Deependra's aggressive half-century is Far West's highest total

काठमाडौँ — कप्तान दीपेन्द्रसिंह ऐरीको तीब्र अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार विराटनगर किंग्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ । विराटनगर किंग्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८२ रन बनाएको हो ।

दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले इनिङ्सको अन्तिम दुई बलमा प्रतिस जिसीलाई लगातार छक्का प्रहार गरेका थिए । अन्तिम ओभरमा मात्र दीपेन्द्रले ३ छक्का प्रहार गरेपछि सुदूरपश्चिमले कुल २३ रन जोडेको थियो । दीपेन्द्रले कुल ३ चौका र ५ छक्का प्रहार गरे ।

दीपेन्द्र र इशान पाण्डेले आक्रामक ब्याटिङ गरेपछि बिहानको निकै कठिन कन्डिसनमा पनि सुदूरपश्चिमले राम्रो स्कोर बनाएको हो । यी दुईले छैटौं विकेटमा २५ बलमा ४९ रन जोडे । इशानले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाई रनआउट भए । सुदूरपश्चिमबाट ओपनर अमित श्रेष्ठ १ रनमै आउट भएका थिए । उनलाई इस्मात आलमले आउट गरे । अर्का ओपनर विनोद भण्डारीले २० बल खेली ३ चौकासहित २३ रन बनाए । आरिफ शेख ९ रनमै आउट भए । बसिर अहमदको बलमा निकोलस कृतनले कभरमा उत्कृष्ट क्याच लिएर आरिफलाई पेभेलियन फर्काएका थिए ।

सैफ जैबले १५ बल खेली १ छक्कासहित १४ रन बनाए । ब्रान्डन म्याकमुलेनले २६ बल खेली समान २ चौका र छक्कासहित ३६ रन जोडे । स्कट कुगेलेइन ६ बलमा २ चौका प्रहार गरि १० रनमा आउट भए । विराटनगरबाट अनिल खरेलले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन दिए । क्रिस सोल, इस्मात र बसिरले १–१ विकेट लिए ।

रोहन मुस्ताफा टस अघिसम्म कीर्तिपुर मैदानमा नपुगेका कारण सुदूरपश्चिमले ३ जनामात्र विदेशी खेलाडीलाई मैदानमा ओरालेको छ । यूएईका पूर्व कप्तान मुस्ताफा मंगलबार बिहान ८ बजेमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका थिए । 

कान्तिपुर

Link copied successfully