काठमाडौँ — कप्तान दीपेन्द्रसिंह ऐरीको तीव्र अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सुदूरपश्चिमले मंगलबार विराटनगर किंग्सलाई ९० रनले पराजित गर्यो ।
१ सय ८३ रनको लक्ष्य लिएर आएको विराटनगर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६.१ ओभरमा ९२ रनमा अलआउट भयो । विराटनगरबाट बसिर अहमदले २८ बल खेली २ चौकासहित २४, राजेश पुलामीले १५ बलमा १ छक्का प्रहार गरि १५ रन बनाए । तल्लोक्रममा अनिल खरेलले अविजित १० र क्रिस सोलले ९ रन बनाए । लोकेश बम २ रनमा आउट भएका थिए ।
स्कट कुगेलेइनले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । उनले इनिङ्सको तेस्रो बलमै मार्टिन गप्टिललाई शून्यमा बोल्ड गरि विराटनगरको लक्ष्यमा पुग्ने सम्भावनालाई कमजोर बनाएका थिए । कुगेलेइनले निकोलस कृतनलाई पनि आउट गरे । अविनाश बोहराले ३ ओभरमा १७ रनमात्र खर्चेर ३ तथा ब्रान्डन म्याकमुलेन, सैफ जैब र इशान पाण्डेले १–१ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८२ रन बनाएको थियो । दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले इनिङ्सको अन्तिम दुई बलमा प्रतिस जिसीलाई लगातार छक्का प्रहार गरेका थिए । अन्तिम ओभरमा मात्र दीपेन्द्रले ३ छक्का प्रहार गरेपछि सुदूरपश्चिमले कुल २३ रन जोडेको थियो । दीपेन्द्रले कुल ३ चौका र ५ छक्का प्रहार गरे ।
दीपेन्द्र र इशानले आक्रामक ब्याटिङ गरेपछि बिहानको निकै कठिन कन्डिसनमा पनि सुदूरपश्चिमले राम्रो स्कोर बनाएको हो । यी दुईले छैटौं विकेटमा २५ बलमा ४९ रन जोडे । इशानले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाई रनआउट भए । सुदूरपश्चिमबाट ओपनर अमित श्रेष्ठ १ रनमै आउट भए । उनलाई इस्मात आलमले आउट गरे । अर्का ओपनर विनोद भण्डारीले २० बल खेली ३ चौकासहित २३ रन बनाए । आरिफ शेख ९ रनमै आउट भए । बसिरको बलमा कृतनले कभरमा उत्कृष्ट क्याच लिएर आरिफलाई पेभेलियन फर्काए ।
जैबले १५ बल खेली १ छक्कासहित १४ रन बनाए । म्याकमुलेनले २६ बल खेली समान २ चौका र छक्कासहित ३६ रन जोडे । कुगेलेइन ६ बलमा २ चौका प्रहार गरी १० रनमा आउट भए । अनिलले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन दिए । सोल, इस्मात र बसिरले १–१ विकेट लिए ।
रोहन मुस्तफा टस अघिसम्म कीर्तिपुर मैदानमा नपुगेका कारण सुदूरपश्चिमले ३ जनामात्र विदेशी खेलाडीलाई मैदानमा ओरालेको छ । यूएईका पूर्वकप्तान मुस्तफा मंगलबार बिहान ८ बजेमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । खेल चलिरहेको समयमा उनी मैदानमा आएका थिए ।
