काठमाडौँ — काठमाडौं गुर्खाजले आफ्नो क्रिकेट एम्बासडरमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ । इन्दुलाई काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका अध्यक्ष उपेन्द्र महतोले स्कार्फ लगाइदिएर आफ्नो टोलीमा स्वागत गरेका थिए ।
इन्दुले एनपीएल आयोजनाले नेपाली क्रिकेटमा ठूलो माहोल ल्याएको बताइन् । उनले भनिन्, ‘काठमान्डु गुर्खाजले मलाई ठूलो अवसर दिएको छ, म आफ्नो भूमिका राम्रोसँग निभाउन लाग्नेछु । एनपीएल आयोजना हुन लाग्दा सबै खेलाडी निकै खुसी हुनुहुन्छ । अर्को वर्षसम्म महिलाहरूको पनि एनपीएल हुने आशा मैले लिएको छु, यो विषयमा क्यानबाट हामीले सकारात्मक संकेतहरू पाइरहेका छौं ।’
सन् २०१० मा सिंगापुरमा भएको एसीसी यू–१९ मा इन्दुले पहिलो पटक एसीसी यू–१९ कप खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेकी थिइन् । इन्दुले २०१३ मा कुवेतमा भएको एसीसी ट्वान्टी–२० बाट नेपाली राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । उनले ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एक अर्धशतकका साथ ६ सय ५९ रन बनाउनुका साथै २९ विकेट लिएकी छन् ।
