पोखरासँग जोडिए जोन्टी

कार्तिक १०, २०८१

कान्तिपुर संवाददाता

Jonty joins Pokhara

काठमाडौँ — दक्षिण अफ्रिकाका लिजेन्ड्स क्रिकेटर जोन्टी रोड्स नेपाल प्रिमियर लिग क्रिकेटका लागि पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौता गरेका छन् । 

एनपीएलको सबैभन्दा महँगो फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगको लागि टोलीको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका जनाएका छन् । 

रोड्सले यसअघि भारतीय क्रिकेटर र प्रशिक्षक सन्दीप पाटिलले सम्हालेको भूमिका अब सम्हाल्नेछन् । सञ्चालक श्रेष्ठले भने, ‘रोड्सलाई हाम्रो टिममा पाउँदा निकै उत्साही छौं । उहाँको अनुभवले पोखरा एभेन्जर्सको थप झन् चम्किलो बनाउने छ । युवाको क्षमतामा वृद्धि गर्न सहयोग पुर्‍याउने छ ।’

रोड्सले आईपीएलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरिसकेका छन् । पोखराको मेन्टरमा नियुक्त भएपछि रोड्सले पोखराको जारी विज्ञप्तिमार्फत भनेका छन्, ‘यस टिममा हुन पाउँदा उत्साहित छु । अब म मेरो सीप र अनुभवमार्फत सम्पूर्ण खेलाडी र प्रमुख प्रशिक्षक राजीव कुमारलाई सहयोग गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु ।’ 

रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटो प्रशिक्षण दिएका थिए । पोखरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ । रोड्स नोभेम्बर पहिलो साता नेपाल आउनेछन् । उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन् ।

एनपीएल

कान्तिपुर

Link copied successfully