एनपीएल अक्सन : लुम्बिनी र पोखरा खर्चालु, चितवन सबैभन्दा कम

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा आठ फ्रेन्चाइज टोलीले ५ करोड ९२ लाख ५० हजार खर्च गरेका छन्, निर्धारित रकमभन्दा कम खर्च गरेकाले चितवनलाई २ लाख जरिवाना

आश्विन २१, २०८१

कान्तिपुर संवाददाता

NPL Auction: Lumbini and Pokhara are expensive, Chitwan is the least

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीमा आवद्ध ‘ए’ श्रेणीका १२ खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अक्सनमा पूरा मूल्य पाएका छन् । आइतबार भएको खेलाडी लिलामीमा ‘ए’ श्रेणीको सूचीमा रहेका २७ खेलाडीमा १० खेलाडीको ‘बेस प्राइस’ १० लाखबाट सुरु भएको थियो । 

त्यसमध्ये विराटनगर किंग्सले लोकेश बम र प्रतिश जिसी, जनकपुर बोल्ट्सले ललित राजवंशी र अनिलकुमार शाह, कर्णालीले गुलशन झा, काठमान्डु गुर्खाजले शाहब आलम र भीम सार्की, लुम्बिनी लायन्सले सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरा, पोखरा एभेन्जर्सले सागर ढकाल तथा सुदूरपश्चिम रोयल्सले आरिफ शेखलाई पूरा १५ लाख खर्च गरेको थियो ।

यसमध्ये लगभग सबै खेलाडीमा एकभन्दा बढी फ्रेन्चाइज टोलीले भाउ लगाएका थिए । गुलशन र अनिललाई ८ मध्ये सात फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा भित्र्याउन दाबी गरेका थिए । लक्की ‘ड्र’ मा लुम्बिनी र कर्णाली भाग्यमानी बनेका थिए । लुम्बिनीले ८ मध्ये ५ खेलाडी लक्की ‘ड्र’ बाट लिएको थियो । 

एउटा फ्रेन्चाइज टोलीले कम्तीमा ६५ र बढीमा ९० लाख खर्च गर्न प्रावधान थियो । ‘ए’ श्रेणीको खेलाडीको न्युनतम पारिश्रमिक १० लाखबाट अधिकतम १५ लाख, ‘बी’ श्रेणीको ५ लाखबाट सुरु भएर अघिकतम १० लाख र ‘सी’ श्रेणीको २ लाखबाट सुरु भएर अधिकतम ५ लाखमा टुंगिएको थियो । ‘ए’ श्रेणीबाट ३, ‘बी’ श्रेणीबाट ४ र ‘सी’ श्रेणीबाट ३ खेलाडी अनिवार्य लिनुपर्ने प्रावधान थियो । यसअघि नै मार्की खेलाडी तय भइसकेको थियो भने हरेक टोलीले एक स्थानीय खेलाडी राख्न पाउनेछन् । साथै हरेक टोलीले चार विदेशी खेलाडी राख्न पाउनेछ । मार्की खेलाडीको मूल्य २० लाख रुपैयाँ रहेको थियो । 

लुम्बिनीले सबैभन्दा बढी ८४ लाख ७५ हजार खर्च गरेको थियो । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल ‘मार्की’ खेलाडी रहेको लुम्बिनीले ‘बी’ श्रेणीबाट आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १०–१० लाख, दुर्गेश गुप्तालाई ८ लाख भाउ लगाएर लिएको थियो । ‘बी’ श्रेणीमा रहेका खेलाडीको ‘बेसप्राइस’ ५ लाख रहेको थियो र अधिकतम १० लाखमा पुगेर टुंगिएको थियो ।

पोखराले ८० लाख ५० हजार, जनकपुर बोल्ट्सले ७९ लाख २५ हजार, कर्णालीले ७४ लाख, सुदूरपश्चिमले ७४ लाख, काठमान्डुले ७० लाख ५० हजार र विराटनगर किंग्सले ६६ लाख ५० हजार खर्च गरेका थिए । चितवनले भने ६३ लाखमात्र खर्च गरेकाले नेपाल क्रिकेट संघलाई २ लाख जरिवाना तिर्नुपर्नेछ । आठ फ्रेन्चाइज टोलीले कुल ८० खेलाडीका लागि ५ करोड ९२ लाख ५० हजार खर्च गरेका थिए । 

‘ए’ श्रेणीका खेलाडीहरूमा अविनाश बोहराले १२ लाख, आकाश चन्दले ११ लाख ५० हजार, नन्दन यादवले ११ लाख, तथा बसिर अहमद, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, रशिद खान, किशोर महतो, देव खनाल, 

दिलीप नाथ, विनोद भण्डारीले ‘बेस प्राइस’ १० लाख भाउ पाएका थिए । ‘ए’ श्रेणीमा भाउ नपाएका अर्जुन साउद लुम्बिनी, हेमन्त धामी जनकपुर र सुनाम गौतम पोखरामा समान ५ लाखमा पुगेका छन् । 

अक्सनबाट छानिएका खेलाडीमा नरेश बुढाऐर, किशोर महतो, नन्दन यादव, जितेन्द्र मुखिया, राजेश पुलामी, सुनाम गौतम, अनिल खरेल, विवेक केसी, दिनेश खरेल विदेशमा बस्दै आएका खेलाडी हुन् । 

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका प्रदीपसिंह ऐरी, सुनिल धमला, पृथु बाँस्कोटा, ललितसिंह भण्डारीसहित मधेश प्रदेशका कप्तान हरिशंकर साह, कर्णाली प्रदेशका कप्तान रवीन्द्रजंग शाहीलाई अक्सनमा कुनै भाउ लागेन । एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान हुनेछ ।

NPL Auction: Lumbini and Pokhara are expensive, Chitwan is the least

एनपीएल

कान्तिपुर

Link copied successfully