एनपीएल क्रिकेट मंसिर १५ देखि

‘एनपीएल एउटा उदाहरण र खेल इभेन्ट बन्नेछ, जसलाई संसारले नै हेर्नेछ’

भाद्र ४, २०८१

कान्तिपुर संवाददाता

NPL Cricket from 15th November

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफैं आयोजना गर्न लागेको यस फ्रेन्चाइज प्रतियोगिताको सोमबार लोगो अनावरण गरिएको छ । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलको लोगो सार्वजनिक गरेका थिए । क्यानले मार्चमै एनपीएल आयोजना गर्ने घोषणा गरेको थियो । तर ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली तयारीका क्रममा रहेकाले पछाडि धकेलिनुपरेको क्यानका सचिव पारस खड्काले लोगो अनावरण कार्यक्रममा जनाएका थिए । 

‘नेपालको उत्कृष्ट खेलाडीहरूलाई र नेपालमा फ्रेन्चाइज क्रिकेटलाई अझ व्यवस्थित गरेर एउटा छुट्टै आयाममा लानका लागि हामीले प्रयत्न गरिरहेका छौं । यो संरचनामा टिम लिनका लागि प्रक्रिया सुरु गरेबापत् एकदमै राम्रो प्रतिक्रिया पाएका छौं,’ पारसले भने, ‘एनपीएल एउटा उदाहरण र खेल इभेन्ट बन्नेछ, जसलाई संसारले नै हेर्नेछ भन्ने मानसिकतामा हामीले यसलाई लक्षित गरेर अगाडि ल्याउन लागेका छौं ।’

NPL Cricket from 15th Novemberनेपालमा यसअघि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग आयोजना भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानलाई निलम्बन गरेका अवस्थामा आएका यी प्रतियोगिताहरू अहिले अस्तित्वमा रहेका छैन । 

दुई वर्षअघि क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई रणनीतिक साझेदारी बनाउँदै नेपाली टी–२० लिगको आयोजना गरेको थियो । निकै शंकास्पद हिसाबले आयोजना गरिएको प्रतियोगिताको बीचैमा सेभेन थ्री स्पोटर्सका सञ्चालक जतिन आहुलावालिया र उनको टोली भागेपछि क्यानले जसोतसो प्रतियोगिता सम्पन्न गरेको थियो । त्यसमा खेलेबापत् विभिन्न टोलीका खेलाडीहरूले अझै पारिश्रमिक पाएका छैनन् भने प्रतियोगिताको विजेता लुम्बिनी अल स्टार्सले अझै पुरस्कार रकम ५५ लाख पाएको छैन । 

सो समयमा विभिन्न कमीकमजोरी भएको स्वीकार्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘एनपीएलले ठूलो उचाइ लिने विश्वास लिएको छु । संसारको सवै देशमा लिगहरू भइरहेका छन्, हाम्रो जस्तो एसोसिएट देशमा पनि लिग भइरहेको छ । तर त्यो अनुरूपको गति लिन सकेको छैन । यूएईको लिग एसोसिएट क्षेत्रमा केही अलग किसिमको छ । हाम्रो पनि उत्साह बढेको छ र एनपीएल पनि त्यही गतिमा अगाडि बढ्नेछ ।’ 

एनपीएल

कान्तिपुर

Link copied successfully