कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

विश्वकपमा हेर्नलायक पाँच ब्याटर

हिमेश

काठमाडौँ — अब त ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ पनि धेरै टाढा छैन, आइतबारदेखि सुरु हुँदै छ । नवौं संस्करणको विश्वकप आइपुग्दा ट्वान्टी–२० क्रिकेट जसरी खेलिन्छ, त्यो नै फेरिएको छ । अब त दुई सयका स्कोर पनि सामान्य हुन थालेका छन् ।

विश्वकपमा हेर्नलायक पाँच ब्याटर

अझ भनौं, दुई सयको स्कोरको रक्षा गर्न पनि गाह्रो हुन थालेको छ । यो भन्नु, यो ढाँचाको क्रिकेटमा ब्याटर हाबी हुनु हो । ब्याटर पनि कस्ता भन्दा अत्यधिक स्ट्राइक रेट भएका । बल भने कम सामना गर्ने, तर यिनै कम बलमा पनि ठूल्ठूला प्रहार गर्न सक्ने ।

कुल २० टिमको सहभागिता रहेको छ, यसपल्टको विश्वकपमा । सुरुमा चार समूह छन्, प्रत्येक समूहमा पाँच टिम । लिग चरणको समाप्तिमा प्रत्येक समूहबाट दुई टिम सुपर–एटमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल । क्रिकेट हेर्ने दृष्टिकोण दक्षिण एसियाली हो भने आयोजक वेस्ट इन्डिजसँगै भारत, पाकिस्तान, इंग्ल्यान्ड र अस्ट्रेलिया नै त्यस्तो टिम हुन्, जसले उपाधिका लागि बलियो चुनौती पेस गर्न सक्छ । त्यही दृष्टिकोणले यी हुन सक्छन्, पाँच प्रमुख हेर्नलायक ब्याटर ।

विराट कोहली, भारत

विराट कोहलीको रोयल च्यालेन्जर्स बेंगलुरुले फेरि एकपल्ट इन्डियन प्रिमियर लिग (आईपीएल) जित्न असफल रह्यो । बेंगलुरुले लगातार ६ खेल जितेर प्ले–अफमा त पुग्यो, तर कथा फेरि पुरानै रह्यो । बेंगलुरुका लागि फेरि एकपल्ट कोहलीको प्रदर्शन ब्याटबाट राम्रै रह्यो । हुन सक्छ, यसपल्टको आईपीएलमा उनी नै सर्वाधिक रन बनाउने खेलाडी रहनेछन् । यस्तोमा अबको ट्वान्टी–२० विश्वकपमा पनि भारतका लागि प्रमुख खेलाडी उनी नै हुनेछन्, कप्तान रोहित शर्माभन्दा पनि बढी । यसपल्टको आईपीएलमा कोहलीमाथि लागेको सबैभन्दा ठूलो आरोप हो, सुस्त स्ट्राइक रेटमा ब्याटिङ गर्ने । ट्वान्टी–२० क्रिकेटमा अविश्वसनीय रूपमा स्ट्राइक रेट बढिरहेको बेला उनले यसमा सुधार गर्नैपर्छ । सम्भवतः अब कोहलीको अन्तर्राष्ट्रिय क्रिकेट जीवन धेरै लामो छैन । त्यसैले व्यक्तिगत रूपमा पनि कोहली यस विश्वकपमा आफ्नो छाप छोड्न चाहन्छन् ।

बाबर आजम, पाकिस्तान

पाकिस्तानी ट्वान्टी–२० टिमको नेतृत्व फेरि एकपल्ट बाबर आजममा आएको छ र यो स्वाभाविक तथा सही निर्णय पनि हो । उनी जत्तिको खेलाडीलाई कप्तानी नदिए कसलाई दिने भन्ने प्रश्न हुन सक्छ । उनको व्यक्तित्व अगाडि पाकिस्तानी टिममा नेतृत्व सम्हाल्ने सक्ने अर्को कोही छैन । तय छ, पाकिस्तानी टिम धेरैभन्दा धेरै कप्तान आजमकै प्रदर्शनबाट भर पर्नेछ । एक थरी क्रिकेट पण्डितहरू उनको खुबै प्रशंसा गर्छन्, किनभने उनी खुलेर रन बनाउँछन्, ठूल्ठूला इनिङ्स खेल्छन् । फेरि अर्को थरी क्रिकेट पण्डितहरू के मान्छन् भने आजम रन त बनाउँछन्, तर ती अधिकांश कमजोर टिमविरुद्ध हुने गर्छ ।

प्रायः आजमको तुलनामा कोहलीसँग पनि हुने गर्छ । कोहली जत्तिकै आजम पनि यसपल्टको विश्वकपमा आफ्नो व्यक्तिगत प्रदर्शन उकास्न चर्को दबाबमै रहनेछन् । उनको असफलताको अर्थ पाकिस्तानी क्रिकेटको कमजोर प्रदर्शनको प्रमुख कारण हुनेछ ।

जस बटलर, इंग्ल्यान्ड

डिफेन्डिङ च्याम्पियनका रूपमा इंग्ल्ल्यान्डले यसपल्टको विश्वकप खेल्दै छ । पछिल्लो संस्करणको फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएको थियो । फेरि एकपल्ट इंग्ल्यान्डले उपाधिका लागि बलियो दाबेदार रहनेछ, किनभने ह्वाइटबल क्रिकेटमा इंग्ल्यान्डसामु विशेषज्ञ खेलाडीहरूको कुनै कमी छैन् । यसमै एक पर्छन्, जस बलटर । उनी खुबै सटीक ढंगले विकेटकिपरको भूमिका त निभाउँछन् नै, उनको ब्याटबाट उत्तिकै आक्रामक भएर बोल्ने गर्छ । इंग्ल्यान्ड टिमको कप्तानी पनि उनकै हातमा छ, त्यसैले उनले कसरी इनिङ्सको सुरुआत गर्नेछन्, त्यसमै टिमको पूरा प्रदर्शन टिक्नेछ । राजस्थान रोयल्सका लागि आईपीएल २०२४ मा उनको प्रदर्शन राम्रै रह्यो । उनले केही खास खास इनिङ्स खेले, जसले राम्रै चर्चा र प्रशंसा बटुलेको थियो । विशेषतः इम्प्याक्ट प्लेयरका रूपमा उनले राम्रो खेले । सम्भवतः बटलरका लागि पनि यो विश्वकप उनको अन्तिम ठूला प्रतियोगिता हुन सक्छ ।

निकोलस पुरन, वेस्ट इन्डिज

वेस्ट इन्डिज टिम अब ह्वाइट बल क्रिकेटमा पनि त्यस्तो रहेन, जस्तो पहिले थियो । यसपल्टको विश्वकप उसकै भूमिमा हुँदै छ, त्यसैले अरू बेलाभन्दा यसपल्टको वेस्ट इन्डिज फरक भने हुनेछ । व्यक्तिगत खेलाडीका रूपमा वेस्ट इन्डिज टिमसँग कुनै गुनासो छैन । प्रश्न यी खेलाडीले एकजुट भएर टिमका लागि कसरी प्रदर्शन गर्ने हो भन्ने मात्रै हो । यो आधारमा टिमका प्रमुख खेलाडी हुन सक्छन्, निकोलस पुरन । ट्रिनिडाडका यी ब्याटर मध्यक्रममा आक्रामक भएर उत्रिने गर्छन् । विशेषतः इनिङ्सको अन्त्यतिर उनी ठूल्ठूला सट प्रहार गर्न माहिर छन् । केही समय अगाडिसम्म पनि उनी नै क्यारियबल टिमको सीमित ओभरको क्रिकेट टिमका कप्तान थिए, तर पछि उनले यो जिम्मेवारीलाई अगाडि बढाउन चाहेनन् । सम्भवतः उनी कप्तानीको बोझबाट मुक्त भएर खेल्न चाहन्छन् । वेस्ट इन्डिजले आफ्नो घरेलु मैदानमा आफ्नो पुरानो छवि फर्काउने हो भने पुरनले ब्याटबाट गतिलो योगदान दिनुपर्नेछ ।

ग्लेन म्याक्सवेल, अस्ट्रेलिया

भारतमा भएको वान डे विश्वकपमा अस्ट्रेलियालाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा ग्लेन म्याक्सवेले पनि एक रहे । विशेषतः अफगानिस्तानविरुद्ध उनले जसरी एक्लै हारको संघारबाट अस्ट्रेलियालाई जित दिलाए, त्यो अपूर्व र दुर्लभ प्रदर्शन थियो । प्रश्न हो, के म्याक्सवेल यस्तै प्रदर्शन अस्ट्रेलियाका लागि दोहोर्‍याउन सक्छन् त ? वान डे क्रिकेटमा अस्ट्रेलिया अहिले पनि उत्तिकै बलियो छ, तर यही तथ्य ट्वान्टी–२० क्रिकेटमा लागू नहुन सक्छ । त्यसैले पूरा टिम नै एक प्रकारले दबाबमा रहनेछ । म्याक्सवेल प्रायः मध्यक्रममा ब्याटिङ गर्छन्, त्यसैले ट्वान्टी–२० क्रिकेटमा उनको पालो प्रायः अन्त्यतिर आउने गर्छ । यो भनेको इनिङ्सको अन्त्यतिर बललाई टाढाटाढा प्रहार गर्नु हो । म्याक्सवेल यसमा सक्षम पनि छन् । त्यसो त नामै मात्र हेर्ने हो भने अस्ट्रेलियाली टिममा एकसेएक खेलाडी छन् । त्यसबीच पनि ग्याक्सवेल निर्णायक हुन सक्छन् ।

प्रकाशित : जेष्ठ १५, २०८१ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x