काठमाडौँ — सन् १९९५ मा आजकै दिन (मार्च १८) मा बास्केटबल खेलाडी माइकल जोर्डनले अप्रत्याशित रूपमा खेल जीवनबाट संन्यास लिएका थिए । अमेरिकाको न्युयोर्कमा १९६३ को फेब्रुअरी १७ मा जन्मिएका जोर्डन बास्केटबलका सर्वकालीन महान् खेलाडी हुन् ।
जोर्डनले १९८१ मा नर्थ क्यारोलाइना विश्वविद्यालयका तर्फबाट बास्केटबल खेल्न सुरु गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनसँगै सिकागो बुल्स १९९१, १९९२ र १९९३ मा नेसनल बास्केटबल एसोसिएसन (एनबीए) च्याम्पियन बनेको थियो । तर संन्यास लिएको केही महिनापछि पुनः खेल जीवनमा फर्किएका जोर्डनले सिकागो बुल्सलाई १९९६, १९९७ र १९९८ मा समेत एनबीए च्याम्पियन बनाउन प्रमुख भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि १९९८ बाट खेल जीवनबाट अलगिएका जोर्डन २००१ देखि दुई वर्ष खेलमा फर्किएका थिए । २००३ अप्रिल १६ देखि भने उनले आफ्नो व्यावसायिक खेल जीवन अन्त्य गरेका हुन् । जोर्डनले अमेरिकी टिमका तर्फबाट १९८४ र १९९२ मा गरी दुई ओलम्पिक स्वर्णसमेत जितेका थिए ।
