काठमाडौँ — न्युजिल्यान्डले यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ३ सय ३ रनको लक्ष्य दिएको छ । स्नेहिथ रेड्डीले सानदार शतक बनाएपछि दक्षिण अफ्रिकाको इस्ट लन्डन स्थित बुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय २ रन बनायो ।
रेड्डीले अविजित १ सय ४७ रन बनाए । उनले अन्तिम ओभरमा सुवास भण्डारीलाई दुई छक्कासहित १४ रन प्रहार गरे । इनिङ्सको अन्तिम बलमा पनि छक्का प्रहार गरेका उनले कुल १ सय २५ बल खेलेर ११ चौका र ६ छक्का प्रहार गरे ।
न्युजिल्यान्डले १० ओभरमा ५३ रन जोडेर सानदार सुरुआत गरेको थियो । ११ औं ओभरको पहिलो बलमा सुवासले लुक वाटसनलाई १४ रनमा बोल्ड गरि नेपाललाई पहिलो सफलता दिलाए । अर्का ओपनर टोम जोन्सलाई तिलक भण्डारीले ३३ रनमा बोल्ड गरे । उनले ४५ बल खेली ५ चौका प्रहार गरे । ओलिभर तेवाटियालाई दीपेश कँडेलले शुन्यमा आउट गरेपछि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
तर रेड्डी र कप्तान ओस्कर ज्याकसनले चौथो विकेटमा १ सय ५७ रनको साझेदारी न्युजिल्यान्डलाई बलियो स्थितिमा उभ्याए । ज्याकसनले ८१ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाए । गुल्शन झाले लच्लान स्ट्याक पोल र ज्याक कमिङ्सलाई लगातार बलमा शुन्यमा आउट गरे । एलेक्स थोम्सनले १३ रन बनाउदै रेड्डीसँग आठौं विकेटमा ४९ रनको साझेदारि गरे ।
नेपालबाट सुवासले ३ विकेट लिए । उनले १० ओभरमा ६० रन खर्चे । गुल्शनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । दीपेश, तिलक र आकाश त्रिपाठीको नाममा १–१ विकेट रहयो ।
नेपालले यसअघि न्युजिल्यान्डविरुद्ध आईसीसी यू–१९ विश्वकपमा खेलेको दुबै खेलमा विजय हात पारेको छ । २००६ को प्लेट फाइनलमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो भने त्यसको १० वर्षपछि बंगलादेशमा नेपालले समूहचरणको खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजय हात पारेको थियो ।
