काठमाडौँ — सन् २००९ मा आजकै दिन (अगस्ट १६) मा उसेन बोल्टले एक सय मिटर दौडमा विश्व रेकर्ड कायम गरेका थिए । जमैकन धावक बोल्टले आईएएएफ वर्ल्ड च्याम्पियनसिपमा एक सय मिटर दौड ९.५८ सेकेन्डमा पूरा गर्दै आफूलाई महान् स्प्रिन्टरको सूचीमा समावेश गरेका थिए । १४ वर्षअघि उनले राखेको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन ।
१९८६ को अगस्ट २१ मा जमैकाको शेरवुड कन्टेन्टमा जन्मिएका बोल्ट विद्यार्थी रहँदा फुटबल र क्रिकेट प्रतियोगितामा सहभागी हुन्थे । तर उनका क्रिकेट कोचको सुझावपछि उनी एथलेटिक्समा सहभागी भएका थिए ।
कोचको सल्लाहबमोजिम एथलेटिक्समा लागेका बोल्ट २००२ मा १६ वर्षको उमेरमा विश्व जुनियर च्याम्पियन बनेका थिए । २००७ मा चीनमा भएको ओलम्पिकमा उनले एक सय मिटरको दौड ९.६९ सेकेन्डमा पूरा गर्दै विश्व रेकर्ड कायम गरेका थिए ।
बोल्टले आफ्नो खेल जीवनमा मुख्य प्रतियोगिताबाट दुई दर्जन स्वर्ण जितेका छन् । तीमध्ये आठ स्वर्ण ओलम्पिकका हुन् । उनले एक सय र दुई सय मिटर दौडमा लगातार तीन पटक ओलम्पिक स्वर्ण जितेका थिए ।
