चितवनमाथिको जितले भैरहवाको क्वालिफायर सम्भावना कायमै


काठमाडौँ — प्रदीप ऐरी र तामिम इक्बालले पहिलो विकेटमा शतकीय साझेदारी गरेपछि भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरी बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायरमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

लगातार चौथो जितसहित चितवनले यसअघि नै क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको थियो । भैरहवाले पनि यस विजयले क्वालिफायरमा चितवनसँग नै खेल्ने सम्भावनालाई बलियो बनाएको हो ।
भैरहवाले ४ खेलमा दोस्रो विजय हात पार्दै ६ अंक पुर्याएको छ । पोखरा राइनोजको ४ खेलमा ५ अंक छ । पोखराले सोमबारको दोस्रो खेलमा काठमाडौं किंग्स ११ को सामना गर्दैछ । काठमाडौंको ३ खेलमा २ अंक छ ।
चितवनले दिएको १ सय ६५ रनको लक्ष्यलाई भैरहवाले १७.५ ओभरमा पुरा गर्यो । प्रदीप र तामिमले १ सय ६ रनको साझेदारी गरेका थिए । तामिमलाई ११ औं भीम सार्कीले बोल्ड गरी यो साझेदारी तोडेका थिए । तामिमले ३० बल खेली ५ चौका र १ छक्कासहित ४० रन प्रहार गरे ।
प्रदीपले ४३ बलमा ७२ रन बनाए । ८ चौका र ३ छक्का प्रहार गरेका उनलाई सागर ढकालले आउट गरे । रोहित पौडेल ६ र आरिफ शेख १ रनमै आउट भए पनि उपुल थाराङ्गाले १९ बलमा ३ चौका र ३ छकका प्रहार गरी अविजित ३९ रन बनाउँदै विजय दिलाए । चितवनका करिम जन्नतले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभर खेलेर ८ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । ओपनर खड्क बोहरा १ रनमै आउट भए पनि अफगानी खेलाडीद्वय मोहम्मद साहजाद र कमिर जन्नतले क्रमशः ३२ र ३५ रन बनाएका थिए ।
साहजादले २४ बल खेली ३ चौका र २ छक्का तथा जन्नतले ३७ बल खेली १ चौका र २ छक्का प्रहार गरे । देव खनाल ५, भीम १६, सेकेगु प्रसन्नले ११ बलमा ३ छक्कासहित २४, राजेश पुलामी १४, दीलिप नाथ दुई छक्कासहित १३ रन बनाई आउट भए । कमलसिंह ऐरी २ बल खेली ७ रनमा अविजित रहे ।
भैरहवाका अविनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ तथा धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।
प्रकाशित : आश्विन १८, २०७८ १३:१३