ईपीएल : चितवन प्लेअफमा निश्‍चित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएल : चितवन प्लेअफमा निश्‍चित

विनोद पाण्डे

काठमाडौँ — चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको प्लेअफमा स्थान निश्चित गर्ने पहिलो टोली बनेको छ । चितवनले पहिलो तीनै खेल जित्नेक्रममा शुक्रबार पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्‍यो ।

ओपनर मोहम्मद साहजादले सानदार अर्धशतक बनाएपछि चितवनले १ सय २४ रनको लक्ष्य १६.४ ओभरमै पूरा गर्‍यो । इशान पाण्डे दोस्रो ओभरमै शुन्यमा आउट भए पनि साहजाद र भिम सार्कीले दोस्रो विकेटमा १ सय २३ रनको साझेदारी गरी चितवनलाई विजय दिलाए ।

साहजाद ६३ र भिम ५४ रन बनाई अविजित रहे । साहजादले ५२ बल खेली ७ चौका र २ छक्का तथा भिमले ४२ बल खेली ५ चौका र २ छक्का प्रहार गरे । यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले ७ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सकेको थियो ।

पोखरालाई चितवनले सुरुआतदेखि नै दबाबमा राखेको थियो । रित गौतम २, सुनिल धमला शून्य, कप्तान विनोद भण्डारी ५, रिचर्ड लेभी २० र लोकेश बम ८ रनमा आउट भएपछि पोखरा नवौं ओभरमा ४२–५ को स्थितिमा पुगेको थियो ।

असेला गुनारत्ने र विवेक यादवले छैटौं विकेटमा ५६ रनको साझेदारी गरेपछि मात्र पोखराको स्कोर हेर्न लायक बनेको थियो । गुनारत्नेले २६ बलमा १ चौकासहित २५ रन बनाए । विवेकले अविजित ५३ रन बनाए । उनले ४५ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे । विक्रम सोब शून्यमा आउट भए भने केसरिक विलियम्स २ रनमा अविजित रहे ।

साहव आलमले ४ ओभरमा १७ रनमात्र खर्चेर २ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट लिन ४ ओभरमा ४० रन खर्चे । कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर १ विकेट लिए ।

प्रकाशित : आश्विन १५, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा पुस्तान्तरण होइन, रुपान्तरण चाहिएको छ : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अहिले रूपान्तरण आवश्यक रहेको बताएका छन् । ‘पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ । तर, हुनुपर्ने रूपान्तरणको हो,’ गृहजिल्ला तनहुँमा शुक्रबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘अहिलेको पार्टी सञ्चालन कसरी भइरहेको छ, यो अवस्थामा रूपान्तरण चाहिएको हो कि पुस्तान्तरण ? पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै उठ्दैन थियो । त्यसैले यो बहसलाई ठीक बाटोमा हिँडाउन सक्नुपर्छ ।’ 

उनले पार्टीको १४ औँ महाधिवेशनले यो भ्रमलाई चिर्नुपर्ने बताए । ‘यदि पार्टीमा सबै संगठनहरू परिचालन हुन सकेको भए, समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न सकेको भए, पार्टी विचारबाट सञ्चालन भएको भए, रूपान्तरणको आवश्यकता हुने थिएन,’ पौडेलले भने, ‘जब रूपान्तरण हुन्छ, तब पुस्तान्तरणको बहस नै आउँदैन । त्यसैले आजको आवश्यकता रूपान्तरण हो, युवा साथीहरू भ्रममा नबस्नुहोला ।’

नेता पौडेलले पार्टीभित्र दोहोरो पद नओगट्ने बहस बार–बार भए पनि त्यसको कार्यान्वयन कमजोरका लागि मात्रै भएको बताए । उनले कांग्रेसलाई लोकतन्त्रको मूलमार्गमा हिँडाउन विचारले पार्टी र राज्य सञ्चालन हुनुपर्ने बताए । ‘हाम्रो पार्टीमा रामशरण महतले दोहोरो पदको कुरा उठाएपछि राजीनामा दिनुपर्‍यो । तर, शेरबहादुर देउवाले राजीनामा गर्नुपरेन,’ पौडेलले भने, ‘यहाँ बलियालाई कानुन नियम लाग्दैन । निर्धालाई मात्र कानुन लाग्ने हो ।’

उनले पार्टी उमेरले नभई विचारले सञ्चालन हुनेसमेत दाबी गरे । ‘पार्टी उमेरले होइन, विचारले सञ्चालन हुन्छ । विचारले लोकतन्त्र र राज्य संयन्त्र सञ्चालन भएन भने त्यहाँ लोकतन्त्रको अस्तित्व सम्भव छैन,’ पौडेलले भने, ‘बीपीले निर्वाचित जनप्रतिनिधिले शासन गर्छन् भन्ने विचार दिनुभयो । यो विचार बुढो भएको छैन । आजसम्म यसकै पक्षमा दुनियाँ रहेको छ ।’

उनले अहिले राज्य सञ्चालनको तौरतरिका ठीक नभएको भन्दै अन्तुष्टि जनाए । ‘मलाई चित्त बुझेको छैन, अहिलेको राज्य सञ्चालनको तौरतरिका । विचारबाट राज्य संचालन भइरहेकै छैन,’ पौडेलले भने, ‘बीपीले पनि त्यही सरकार चलाउनुभएको हो । त्यसपछिका पनि थुप्रै सरकारहरू बने र चले तर, किन बीपीको जस्तो हुन सकेनन् ? किन भने विचारबाट सरकार सञ्चालन हुन सकेनन् ।’

नेता पौडेलले अहिले प्रतिपक्षीको व्यवहारले लोकतन्त्रमा खतरा देखिएको बताए । ‘लोकतन्त्रमा जति विपक्षी दलहरू जिम्मेवार हुन्छन्, त्यति नै लोकतन्त्र बलियो हुन्छ,’ पौडेलले भने, ‘हाम्रोमा प्रतिपक्ष जिम्मेवार छैन । सदन प्रतिपक्षको हो । तर, त्यो सदनलाई प्रतिपक्षले नै अवरुद्ध पारेर बन्धक बनाएर राखेको छ । संसद् बाहुबलीको बन्धक बन्ने अनि कसरी लोकतन्त्र समृद्ध हुन्छ ?’

प्रकाशित : आश्विन १५, २०७८ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×