कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएल : ललितपुरले विराटनगरलाई ३७ रन हरायो

विनोद पाण्डे

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । टोलीले शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्‍यो ।

ईपीएल : ललितपुरले विराटनगरलाई ३७ रन हरायो

२ सय २७ रनको लक्ष्य लिएर आएको विराटनगरले ८ विकेट गुमाई १ सय ८९ रनमात्र बनाउन सक्यो । पहिलो तीन खेलमै हार बेहोरेपछि २०१७ को विजेता विराटनगर प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । ललितपुरले चौथो खेलमा पहिलो विजय हात पारेको हो । टोलीको ३ अंक छ ।

सन्दुन विराकोडी र कप्तान कुशल भुर्तेलले सानदार सुरुआत दिलाएपछि टस हारेर ब्याटिङमा आएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २६ रन बनाएको थियो ।

अजमतुल्लाह ओमारजाइले ईपीएल इतिहासकै सबैभन्दा कम बल खेलेर अर्धशतक बनाएपछि ललितपुरले सबैभन्दा ठूलो स्कोरको कीर्तिमान पनि बनाएको हो । २१ बलमै अर्धशतक बनाएका उनले कुल २४ बल खेलेर ७ छक्का प्रहार गर्दै अविजित ५८ रन बनाए ।

विराकोडी र कुशलले पावर प्लेको ६ ओभरमा ७० रन जोडेर ललितपुरलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । छैटौं ओभरको अन्तिम बलमा आउट हुन पूर्व कुशलले १७ बल खेली ४ चौका र २ छक्कासहित ३२ रन बनाए ।

योगेन्द्रसिंह कार्कीले १ चौका र ३ छक्का प्रहार गर्दै १८ बलमा २७ रन जाडे । उत्कृष्ट फर्ममा रहेका श्रीलंकाली खेलाडी विराकोडीले ४३ बल खेली १० चौका र ३ छक्कासहित ७३ रन बनाए । पवन सर्राफ २ र प्रतियोगितामा पहिलो खेल खेलिरहेका जयकिशन कोस्लावाला १३ रनमा आउट भए । इनिङ्सको अन्तिम तीन बलमा रामनरेश गिरीलाई छक्का प्रहार गरेका नारायण जोशी ४ बलमा १८ रन बनाई अविजित रहे ।

विराटनगरबाट श्रीलंकाली ब्याटर दिलशान मुनाविराले ३९ बलमा ५९ रन बनाए पनि टोलीलाई विजय दिलाउन सकेनन् । उनले ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर चन्द्रपाल हेमराजले १३ बलमा ४ चौका र १ छक्कासहित २८, आसिफ शेखले ३० बलमा ६ चौकासहित ३७, सिकन्दर राजाले १२ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाई आउट भए ।

कप्तान करण केसी ४, अनिल शाह ८, सौरभ खनाल शुन्य र सुमित महर्जन २ रनमै आउट भए । वसन्त रेग्मी ९ र प्रतिस जिसी ४ रन बनाई अविजित रहे । ओमारजाईले सानदार अलराउन्ड प्रदर्शन गर्नेक्रममा ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए । ललितनारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ र योगेन्द्रसिंह कार्कीले विकेट लिए ।

प्रकाशित : आश्विन १५, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?