ईपीएल : भैरहवाविरुद्ध ललितपुरको ठूलो स्कोर- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएल : भैरहवाविरुद्ध ललितपुरको ठूलो स्कोर

विनोद पाण्डे

काठमाडौँ — पहिलो दुई खेलमा पराजित भएर दबाबमा परेको ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भैरहवा ग्लाडियटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङमा आएको लतिलपुरले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाई १ सय ७७ रन बनायो । ओपनर सन्दीन विराकोडीले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बल खेली २ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान एवं ओपनर कुशल भुर्तेललाई २ रनमै रनआउटमा गुमाए पनि विराकोडीले अर्का श्रीलंकाली खेलाडी ओसाडा फर्नान्डोसँग दोस्रो विकेटमा ८ ओभरमा ६६ रनको साझेदारी गरे । फर्नान्डोले १९ बल खेली १ चौका र २ छक्कासहित २० रन बनाए ।

सन्दीप जोराले ३८ र अफगानिस्तानका अजमतुल्लाह ओमारजाईले ४२ रन बनाएपछि ललितपुर चुनौती स्कोर बनाउन सफल भयो । सन्दीपले २५ बल खेली २ चौका र २ छक्कासहित ३८ तथा ओमारजाईले २२ बल खेली २ चौका र ४ छक्का प्रहार गरे ।

पवन सर्राफ १ र योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । अविनाश बोहराले २ विकेट लिए । तर त्यसका लागि उनले ४ ओभरमा ४७ रन खर्चे । धम्मिकाप्रसाद, कृष्ण कार्की र आरिफ शेखले १–१ विकेट लिए ।

प्रकाशित : आश्विन १४, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री र सभामुखले एमालेका संसदीय दलका नेतासँग छलफल गर्नुपर्छ : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका मुद्दालाई सम्बोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताएका छन् ।

उनले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरु रहेको बताए । उनले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसद्‌‌मा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन र संविधान विपरित भएको बताउँदै नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए ।

प्रमुख सचेतक भट्टराईले भने, ‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन् ती मुद्दाहरुको बारेमा सत्तापक्षले वा सभामुख ज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकारले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साच्ची राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन, त्यो जरुरी हामी ठान्दैनौं, सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैं खुल्ला छौं । त्यसकारण आजको बैठकमा हामी गएनौं ।'

उनले भने,' संसद्‌को अहिलेको हाम्रो अवरोध भनेको सभामुख व्यवहारप्रतिको आपत्ति, उहाँको निर्णयप्रतिको आपत्ति हो भने पछिल्ला दिनमा सरकारसँग पनि हाम्रो केही आपत्तिहरु थपिएका छन् । जस्तै: साउन ३२ गतेको दिन संसद् अधिवेशन अन्त्य गर्नुभयो, विगतमा हामीलाई पटकपटक संसद् छलेको आरोप लगाउने उहाँहरुले १ गते बिहानै अध्यादेश ल्याउनुभयो, त्यो पनि ४० बाट झारेर २० प्रतिशतमा पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याउनुभयो, हामीले ल्याउँदा संसद् छलेको हुने, उहाँहरुले ल्याउँदा नहुने ? कति भए पुग्छ भनेर हाम्रो दल विभाजन गर्नका लागि जुन हर्कत गरियो त्यसप्रति हाम्रो आपत्ति हो । '

उनले प्रतिनिधिसभामा अध्यादेश टेबुल गरिसकेपछि त्यहीबाट निरुपण गर्नुपर्नेमा संसद्‍मै बेवारिसे छाडिदिएर अचानक क्याबिनेटबाट फिर्ता लिने काम संविधान विपरित भएको बताए । उनले भने,'उहाँहरुसँग बहुमत थियो, त्यो गर्दा भइहाल्थ्यो तर त्यो छोडेर उहाँहरुले संसद्‌मै त्यसलाई बेवारिसे छोडिदिएर अचानक क्याबिनेटले फिर्ता लिने जुन काम गर्नुभयो,त्यो कानून विपरित छ, संविधान विपरित छ, नैतिक दृष्टिकोणले वास्तवमा त्यो उचित काम भएन ।'

प्रमुख सचेतक भट्टराईले नेकपा एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताए । प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उनले बताए ।

प्रकाशित : आश्विन १४, २०७८ १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×