ईपीएल : ललितपुर र विराटनगरको पीडा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएल : ललितपुर र विराटनगरको पीडा

कान्तिपुर संवाददाता

काठमाडौँ — साबिक विजेता ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ । पोखरा राइनोजले मौसमबाट प्रभावित खेलमा बुधबार ललितपुरलाई ९ विकेटले हरायो । पहिलो खेलमा काठमाडौं किंग्स इलेभेनसँग ७ विकेटले पराजित ललितपुरलाई पछिल्लो हारले प्लेअफमा पुग्न कठिन बनाएको छ ।

वर्षाका कारण लगातार चार खेल प्रभावित भएपछि बुधबार पहिलो खेल सम्भव भएको थियो । तर, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भिजेर नसुकेका कारण ललितपुर र पोखराबीचको खेल ७–७ ओभरमा छोट्याइएको थियो । पोखराले टस जितेपछि ब्याटिङमा निम्त्याइएको ललितपुरले ६ विकेट गुमाई ५१ रनमात्र बनायो ।

दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभीले २२ बलमा ५ चौका र १ छक्कासहित अविजित ३८ रन बनाएपछि पोखराले ३ बलअगाडि लक्ष्य पूरा गर्‍यो । स्कोर बराबरीको अवस्थामा लेभीले पवन सर्राफलाई विजयी चौका प्रहार गरे । रित गौतम १४ बलमा १२ रन बनाई अजमतुल्लाह ओमारजाइको बलमा आउट भए । यसअघि प्लेयर अफ द म्याच नन्दन यादवले ३ र विक्रम सोबले २ विकेट लिँदै ललितपुरलाई सानो स्कोरमै रोक्न मदत गरे । विक्रमले कप्तान कुशल भुर्तेललाई ३ र ओमारजाइलाई १ रनमा आउट गरी पोखरालाई सानदार सुरुआत दिलाए । विक्रम र नन्दन दुवैले २–२ ओभरमा समान ११ रन खर्चिए । नन्दनले पवनलाई ५, नारायण जोशीलाई ११ र सन्दीप जोरालाई शून्यमा आउट गरे । ओपनर सन्डु विराक्कोडीले सर्वाधिक १९ रन बनाए । १६ बल खेलेर १ चौका र १ छक्का प्रहार गरेका उनलाई केसरिक विलियम्सले आउट गरे । ओसाडा फर्नान्डो १० रनमा अविजित रहे ।

पोखराको ३ अंक भएको छ । टोली भैरहवा ग्लाडियटर्ससँगै समान अंक लिएर शीर्षस्थानमा छ । यी दुईबीच आइतबारको खेल वर्षाले अवरुद्ध बनाएपछि दुवैलाई १–१ अंक प्रदान गरिएको थियो । भैरहवाले दिनको दोस्रो खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले हरायो । सन् २०१७ को संस्करण विजेता विराटनगरको यो दोस्रो हार हो ।

टस हारेर ब्याटिङमा आएको विराटनगर १७.४ ओभरमा ८९ रनमै अलआउट भयो । प्लेयर अफ द म्याच श्रीलंकाका अनुभवी बलर धम्मिका प्रसादले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । आरिफ शेखले ३ विकेट लिनेक्रममा ३ ओभरमा २३ रन खर्चे । अविनाश बोहराले ३.४ ओभरमा २३ रन खर्चेर २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए ।

विराटनगरबाट दिलसान मुनाविराले २० बलमा २ चौका र १ छक्कासहित २५ रन बनाए । सुमित महर्जन १३, आसिफ शेख र अनिल शाह समान ११ रनमा आउट भए । वसन्त रेग्मी १० रनमा अविजित रहे । धम्मिका प्रसादले खेलको चौथो बलमै हेमराज चन्द्रपाललाई आउट गरेपछि विराटनगरको ब्याटिङ सम्हालिन सकेन् । कप्तान करण केसी र प्रतिश जिसी गोल्डेन डकआउट भए ।

उपुल थाराङ्गाले ३४ रन बनाउँदै भैरहवालाई १५.३ ओभरमा जिताए । अनिलको बलमा विजयी चौका प्रहार गरेका थाराङ्गाले ३५ बल खेल्दै कुल ४ चौका प्रहार गरे । उनीसँग अविजित कप्तान शरद भेषावकरले ६ रन बनाए । प्रदीप ऐरी २३ बलमा ३ चौका प्रहार गरी २२, तमिम इकवाल र रोहित पौडेल समान १२ तथा आरिफ शून्यमा आउट भए । विराटनगरका रामनरेश गिरीले २, वसन्त र करणले १–१ विकेट लिए ।

आजका खेल

  • चितवन टाइगर्सविरुद्ध
  • काठमाडौं किंग्स इलेभेन
  • भैरहवा ग्लाडियटर्सविरुद्ध
  • ललितपुर प्याट्रियट्स

प्रकाशित : आश्विन १४, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

क्यान उपाध्यक्ष र सचिवको राजीनामा

विनोद पाण्डे

काठमाडौँ — उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले बुधबार आकस्मिक राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) को कार्यदिशाले नयाँ मोड लिएको छ । आफूले २०३८ सालमा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दादेखिको फेहरिस्त प्रस्तुत गर्दै प्याकुर्‍यालले बुधबार सञ्चारमाध्यमसामु नेपाली क्रिकेटको सर्वोच्च निकायबाट अलग भएको घोषणा गरेका थिए ।

श्रेष्ठ २०६३ सालमा कोषाध्यक्ष र प्याकुर्‍याल २०६० सालमा सदस्यका रूपमा क्रिकेट संघमा प्रवेश गरेका थिए । दुई वर्षअघि सम्पन्न निर्वाचनबाट श्रेष्ठ उपाध्यक्ष र प्याकुर्‍याल सचिवमा निर्वाचित भएका थिए । एसियाली क्रिकेट परिषद् (एसीसी) को विकास समिति सदस्यमा पनि रहेका प्याकुर्‍याल यसअघि क्यान महासचिव थिए । २०६८ मा चितवनमा भएको निर्वाचनमा महासचिव भएयता उनी क्यानको शक्तिकेन्द्रका रूपमा रहेका थिए ।

‘एउटा समय खण्डमा क्यान नेतृत्वको केन्द्रबिन्दु रहेर तत्कालीन परिस्थिति र आवश्यकतामा सहभागी भएका हामीले त्यस्तै खाले स्पिरिटमा भावी क्यानको आवश्यकताका लागि नयाँ योजनाको बाटो बनाउनुपर्छ, जुन नयाँ योजनाले क्यानको नेतृत्व गर्न सकोस्, अवधारणाहरू ल्याउन सकोस्, क्यानलाई थप मजबुत बनाउन सकोस् भन्ने हाम्रो विश्वास छ,’ संयुक्त राजीनामा सुनाउँदै प्याकुर्‍यालले भने, ‘आजकै मितिबाट क्यानसँग हाम्रो लामो समयदेखिको संलग्नताबाट अलग हुने निर्णयमा पुगेका छौं । हाम्रो यो एक दशकभन्दा लामो अभियानमा साथ दिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद दिन चाहन्छौं ।’

सचिवले सञ्चारमाध्यमलाई बुधबार बिहान व्यक्तिगत रूपमा अन्तरक्रिया भन्दै बोलाए पनि क्यानका अरू पदाधिकारी यसबारे बेखबर थिए । ठीक दुई वर्षअघि क्यानको निर्वाचनमा ‘क्लिन स्वीप’ नै गरे पनि लगत्तै अध्यक्ष चतुरबहादुर चन्द र सचिव प्याकुर्‍याल समूहको ‘कित्ताकाट’ भएको थियो । पछिल्लो समय यी दुई समूहबीच ठूलो मनमुटाव आएपछि सचिव समूहले निकासका लागि राजीनामाको बाटो समातेको बताइएको छ ।

तर उपाध्यक्ष र सचिवले राजीनामा आफूहरूको व्यक्तिगत निर्णय भएको जनाउँदै कसैमाथि आरोप लगाएनन् र आक्रोश पनि पोखेनन् । क्यान वा अध्यक्षलाई राजीनामाबारे अवगत नगराएको हो भन्ने प्रश्नमा सचिव प्याकुर्‍यालले भने, ‘मैले राजीनामा दिँदैछु भनेर श्रीमतीलाई पनि भनेको छैन । किनभने यो मेरो व्यक्तिगत विचार र निर्णय हो । मान्छेहरूलाई कल्पना बढी गर्ने भएका हुनाले क्यानमा द्वन्द्व छ, धारहरू छन् भन्ने लागेको छ । यस्ता चिजहरू मेरो सोचभन्दा पर हो । हामीले यसका लागि क्यानमा संघर्ष गरेका पनि होइनौं ।’

आफूहरूको राजीनामाले नेपाली समाजमा एउटा उदाहरण प्रस्तुत गरेको दाबी प्याकुर्‍यालको थियो । ‘आजको यो निर्णयले जसरी हुन्छ, जे हालतमा हुन्छ, जस्तोसुकै परिस्थितिमा हुन्छ, पदमा बसिरहनुपर्छ भन्ने नेपालमा पद्धति विकसित भएको छ, यो एउटा उदाहरण बन्न सक्छ भन्ने हामीलाई लागेको छ,’ उनले भने, ‘क्यान एउटा स्वयंसेवी संस्था हो । एउटा समयमा हामीले सम्पूर्ण तनमन लगाएर काम गरेका छौं । तर यसमै अन्तिमसम्म र यसलाई नै अविष्टका रूपमा लिएर रहिरहनुपर्छ भन्ने हाम्रो मान्यता पनि छैन ।’

सन् २०१९ को अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथिको निलम्बन फुकुवा गरेलगत्तै आफूहरू यो स्थितिमा पुगेका हौं तर अहिले राजीनामाका लागि सही समय आएकाले क्यानबाट अलग हुने निर्णय गरेको उनले सुनाए । ‘क्यानमा आवश्यक कर्मचारी नियुक्ति गर्नुपर्ने हामीले धेरै पहिले हो, आईसीसी र एसीसीले यसका लागि निकै दबाब दिइरहेका थिए । त्यो बेला विभिन्न कारणले गर्न पनि सकिएन,’ आफूहरू जिम्मेवारीबाट नपन्छिएको दाबी गर्दै उपाध्यक्ष श्रेष्ठले भने, ‘बोर्ड भनेको नीतिगत कुरामात्र हो, दिनका दिन अफिस अपडेट गर्न जानुपरेन । म कोषाध्यक्ष हुँदा हरेक दिनजस्तो चेक, भौचरमा हस्ताक्षर गर्नुपर्थ्यो । नीतिगत भनेको बोर्ड बैठक ३–४ महिनामा एक पटक बस्छ । सबै नीति अहिले पारदर्शी हुन्छ । हरेक कमिटीले गर्नुपर्ने कामकर्तव्य प्रस्ट छ । नीतिगत काम सबै सकिसकेको छ, अब भनेको कसरी हुन्छ खेललाई अगाडि बढाउने हो । कागजले बोलेपछि मान्छेहरू चाहिँदै चाहिँदैन ।’

खासगरी सुरुआती दिनदेखि विधानमा क्यानको स्थिरता, क्यानलाई निलम्बनबाट फुकुवा गराउँदै पूर्ण क्रियाशील बनाउने अठोट जुन आफूहरूले लिएको त्यो पूरा भएसँगै अभियान सकिएकाले यस अर्थमा राजीनामाले निकास गरिदिएको तर्क उनीहरूको थियो । आगामी दिनमा क्यान थप सक्षम, सबल बन्ने विश्वास लिँदै उनीहरूले पनि शुभकामना दिए ।

क्यानमाथि आईसीसीले लगाएको निलम्बन फुकुवा गरे पनि आर्थिक पाटोमा अझै विश्व क्रिकेटको सर्वोच्च निकायकै नियन्त्रण छ । आईसीसीको नियन्त्रणका कारण सन् २०१४ को अन्त्यदेखि क्यानले आर्थिक पक्षमा स्वतन्त्र हिसाबमा काम गर्न पाएको छैन । सचिव प्याकुर्‍यालले भने आर्थिक पाटो क्यानकै हातमा रहेको दाबी गर्दै आईसीसीको नियन्त्रणमा नरहेको जनाए ।

प्रकाशित : आश्विन १४, २०७८ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×