ईपीएल : लगातार दोस्रो जितसहित चितवन शीर्षमा- खेलकुद - कान्तिपुर समाचार

ईपीएल : लगातार दोस्रो जितसहित चितवन शीर्षमा

विनोद पाण्डे

काठमाडौँ — लगातार दोस्रो खेल जित्दै चितवन टाइगर्स बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । चितवनले काठमाडौं किंग्स ११ लाई ३ विकेटले पराजित गर्‍यो ।

चितवनले १ सय ४२ रनको लक्ष्य ८ बल अगाडि नै पूरा गर्‍यो । राजेश पुलामी मगर र कमलसिंह ऐरीले २८ बलमा ४७ रनको अविजित साझेदारी गरी चितवनलाई विजय दिलाएका हुन् । राजेश २९ बलमा २ छक्का प्रहार गर्दै २६ र कमल १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रनमा अविजित रहे ।

ओपनर इशान पाण्डे ४, मोहम्मद साहजाद १७, करिम जन्नत २१, भीम सार्की २६, दीलिप नाथ २३, सेकुगे प्रसन्न ५ र कप्तान सोमपाल कामी शून्यमा आउट भएका थिए । काठमाडौं किंग्सका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा कप्तान सन्दीप लामिछानेसहित जनक प्रकाश र गुलशन झाले १–१ विकेट लिए ।

चितवनको २ खेलबाट ४ अंक भएको छ । काठमाडौंले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।

यसअघि चितवनले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमाडौं किंग्सले निर्धारित २० ओभर खेलेर ८ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौं किंग्सबाट ओपनर सुवास खकुरेलले ३४ बलमा सर्वाधिक ३५ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । राजु रिजालले २० बलमा ३ चौका र २ छक्कासहित २८ र जनक प्रकाशले १६ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाए ।

रहमनुल्लाह गुरबाज ५, अमित श्रेष्ठ ६, रायन बर्ल शुन्य, गुल्शन झा ४, अमरसिंह रौटेला ५ रनमा आउट भए । सिद्धान्त लोहनी ८ र कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । म्यान अफ द म्याच देव्रेहाते स्पिनर सागर ढकालले ४ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चे । अफगानिस्तानका बलर करिम जन्नतले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी र सेकेगु प्रसन्नले १–१ विकेट लिए ।

प्रकाशित : आश्विन १४, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

नेपालको जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

कान्तिपुर संवाददाता

लन्डन — अर्थमन्त्री जनार्दन शर्माले बेलायती लगानीकर्तालाई नेपालको जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् ।

लन्डनस्थित नेपाली दूतावास, काठमाडौंस्थित बेलायती दूतावास र डेभलपिङ मार्केट एसोसियट्स (डीएमए) ले संयुक्त रुपमा आयोजना गरेको ‘यूके नेपाल इनर्जी ट्रान्जिसन एन्ड काउन्टडाउन टु कोप २६’ विषयक लगानी सम्मेलनमा अर्थमन्त्री शर्माले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एवं कार्वनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । स्कटल्यान्डको ग्लास्गोमा आगामी नोभेम्बर २०२१ मा हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २६) को सन्दर्भमा उक्त सम्मेलन भएको हो ।

पेरिस जलवायु सम्झौताअन्तर्गत जलवायु परिवर्तनका सन्दर्भमा नेपालको प्रतिबद्धताको पुनर्पुष्टिका लागि उपयुक्त परियोजनाहरुको सम्बन्धमा छलफल गरी हरित एवं नवीकरणीय ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रोत्साहित गर्ने उद्देश्यले भर्चुअल तथा भौतिक माध्यमबाट उक्त कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।

सम्मेलनमा जलविद्युत एवं अन्य नवीकरणीय हरित ऊर्जासँग सम्बद्ध नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्ता तथा उक्त क्षेत्रमा लगानी गरिरहेका नेपाली लगानीकर्ता एवं व्यवसायीहरुको संलग्नता थियो ।

उक्त सम्मेलनमा नेपालका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एवं कार्बनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नवीकरणीय ऊर्जा क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउँदै जलविद्युत् एवं अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गरे ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड्सका सांसद तथा यूके-नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष लर्ड शेख, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालगायतले नेपालमा जलविद्युत्, सौर्य ऊर्जालगायत हरित एवं नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका सम्बन्धमा नेपाल सरकारको नीति, सम्भावना तथा चुनौतीहरुको विवेचना गरेका थिए ।

त्यसैगरी एसिया प्यासिफिक तथा साउथ एसियाका लागि कोप-२६ क्षेत्रीय राजदूत केन ओ फ्लाहेर्ती, आईएफसीका क्षेत्रीय निर्देशक हेक्टर गोमेज एङ तथा बेलायती लगानीकर्ताका तर्फबाट डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी अधिकृत टिम गोचरलगायत जलविद्युत् विज्ञहरुले नेपालमा हरित एवं नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानीका लागि अथाह सम्भावना रहेको धारणा व्यक्त गरे ।

वक्ताहरुले हरित एवं नवीकरणीय ऊर्जाको विकासमार्फत नेपाल सन् २०५० भित्र जिरो नेट कार्बन उत्सर्जन गर्ने लक्ष्यतर्फ अगाडि बढेको र जलवायु परिवर्तन सम्बन्धमा पेरिस सम्झौताको प्रतिवद्धता पूरा गर्न सकिने राय व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल तथा बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुबीच भर्चुअल माध्यमबाट परिचय तथा व्यवसाय सम्बन्धमा विभिन्न छलफल पनि भएका थिए ।

प्रकाशित : आश्विन १४, २०७८ १३:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×